अनि तात्तिन थाल्यो लेखा समिति

अनि तात्तिन थाल्यो लेखा समिति

महालेखा परीक्षकले एउटा बहुराष्ट्रिय कम्पनीसँग चार करोड कर असुल गर्नु पर्ने भनेर किटान सहित बेरुजु अंक निकालेकोमा अर्थ मन्त्रालयका अधिकारीहरूले लगतबाट त्यसलाई हटाइएको भेटिएको छ ।

महालेखाले नै अर्काे एउटा निकायसँग २१ करोड असुल उपर गर्नुपर्ने भनेर किटान गरेकोमा त्यसबाट ६ करोड हटाइदिएको तथ्य सार्वजनिक भएसँगै सार्वजनिक लेखा समितिले एक्सन लिएको छ ।

महालेखा परीक्षकले पनि आफ्नो बार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने प्रचलन छ । उक्त प्रतिवेदन प्रधानमन्त्री हुँदै सदनमा पुग्छ र उसले सार्वजनिक लेखा समितिमा पठाइदिन्छ ।

अनि शुरु हुन्छ सोउपर छलफल तर यसरी छलफल हुनुपूर्व नै मन्त्रालय र त्यहाँका कर्मचारीहरूले आफूखुशी बेरुजुलाई लगतबाट हटाउने र ती निकायसँग फाइदा लिने गरेको भेटिएसँगै लेखा समिति तातेको हो ।

उसले गत शुक्रवारमात्र संघ मातहतका ४७ वटा केन्द्रीय निकाय, मन्त्रालय, संवैधानिक निकायसम्मलाई पुर्जी काटेको छ । ती निकायका लेखाउत्तरदायी (सचिवसँग) फछ्र्यौटसम्बन्धी विस्तृत विवरणसमेत मागेको छ ।

महालेखाले ५७ औं प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको एक बर्षपछि मात्र समितिमा छलफल चलेको थियो । अहिले ५८औं प्रतिवेदनको पालो आएको छ । जबकि महालेखाले ५९ औं प्रतिवेदन सार्वजनिक गर्ने तयारी गर्दैछ ।

यसरी महालेखालाई कमजोर बनाउने,उल्टै महालेखाले निकालेको बेरुजुमा समेत खेल्ने प्रवृत्ति बढ्न थालेको चाहिँ ०७६ सालदेखि हो ।

टिप्पणीहरू