नेपाली दूतावासहरुमा हिसाबकिताबको रुवावासी

नेपाली दूतावासहरुमा हिसाबकिताबको रुवावासी

सरकारी सफ्टवेयरको गएगुज्रेको अवस्था,हाम्रो लेखा र खर्च प्रणाली तथा परराष्ट्रमन्त्री र मन्त्रालय प्रशासनको अकर्मण्यताको शिकार अहिले विदेश मिसनमा खटिएका लेखा अधिकृतहरु भएका छन् । उनीहरु आर्थिक वर्षको अन्तमा काबु बाहिरको परिस्थिति र राजदूतहरुको चर्को दवावका कारण रुनु न हाँस्नुको अवस्थामा पुगेका हुन् ।

३४ मुलुकका ४० वटा नियोगमा रहेका सबै लेखा अधिकृतको हालत खराब भएको एकजना अधिकृतले जनआस्थालाई बताए । उनका अनुसार खर्चमा एकरुपता र सहजताका निम्ति महालेखा नियन्त्रकको कार्यालयले सफ्टवेयर विकास गरेको छ । उक्त सफ्टवेयरले विदेशस्थित दूतावास र मुलुकभरको लेखाप्रणालीलाई एकीकृत गरेको कार्यालयको दाबी छ ।

महालेखा नियन्त्रकको कार्यालयले दिनमा मूलतः कति खर्च भयो भन्ने हिसाब हेर्नको निम्ति सफ्टवेयरको विकास गरेको भनिएको छ । तर त्यहि सफ्टवेयर आधुनिक प्रणालीसँग मेल नखाँदा आर्थिक वर्षको अन्तमा सबैलाई पीडा भएको हो ।

विदेशस्थित एउटा दूतावासमा रहेका लेखा अधिकृतले भने, ‘महालेखा नियन्त्रक कार्यालयको सफ्टवेयर वर्षमा छ महिना ह्याङ्ग हुन्छ । एउटा खर्च भौचर पनि सफ्टवेयरबाट मात्र जेनेरेटेड हुने व्यवस्था गरिएको छ । तर,सँधै ह्याङ्ग भएपछि कसरी खर्च प्रविष्ट गर्नु ?’ राजधानीको सिंहदरबार नजिकैबाट सरकारी कार्यालयहरुले कति पैसा खर्च गरे भनेर हेर्न मिल्ने भए पनि सफ्टवेयर कमसल हुँदा अहिले आपत आइलागेको हो ।

उनै लेखा अधिकृतले उदाहरण दिँदै भने, ‘पहिले म्यानुअलअन्तर्गत कतिपय शीर्षकमा रकम अभाव भएपछि अर्को शीर्षकको रकम तानेर भए पनि मिलाइन्थ्यो । त्यसपछि हिसाब मिलान हुन्थ्यो । तर अहिले त यही सफ्टवेयरका कारण एउटा शीर्षकमा रकम बाँकी छँदाछँदै अर्को शीर्षकमा चाहेर पनि रकमान्तर गर्न सकिँदैन ।’ उनले उदाहरणको लागि पानी र बिजुली शीर्षकमा रहेको बजेटको प्रसंग निकाल्दै भने, ‘बिजुलीको शीर्षकमा थोरै रकम पुगेन भने अब पानीको शीर्षकमा रहेको उक्त रकम बिजुलीमा सार्न सकिँदैन । त्यसमा पनि वर्षमा छ महिना ह्याङ्ग हुन्छ । कहिल्यै काम गर्न सकिँदैन ।’

“अहिले मध्यपूर्वदेखि बंगलादेश,पाकिस्तान, कतार,ओमन,इजिप्ट,बहराइन,युएइ,र मलेसियामा इदको रमझम छ । ती मुलुकका सबै बैंक बन्द छन् । त्यहाँ चेक भुक्तानी नभएको धेरै दिन भएको छ ।”

यता असार २० गतेभित्र सबै खर्च गर्नु,साउन नलागेसम्म चेक नकाट्नु भनेर महालेखा नियन्त्रकको कार्यालयले विदेशस्थित नियोगहरुलाई निर्देशन दिएको छ । लगत्तै अत्यावश्यक कामको निम्ति चाहिँ काटे पनि हुन्छ भनेर अर्को निर्देशन पनि गएको छ । असार २० गतेभित्र खर्च गर्नु भनेपनि २५ गतेसम्म उक्त सफ्टवेयर नखुलेका कारण सरकारी कार्यालयले खर्च गर्न नपाएका हुन् ।

लोडसेडिङ जस्तै सफ्टवेयर खुलेको मौका पारेर खर्च मिलाउनुपर्ने झन्झट थपिएपछि सबैतिर लेखापालले थाप्लोमा हात राखेका छन् । यो पीडा आर्थिक वर्षको अन्तमा झन धेरै भएको उनीहरुले बताए ।

ती सबै नियोगमा देशको आफ्नो एकद्वार नियम भए पनि तत् तत् मुलुकको नियम छुट्टै छन् । कतिपय देशको बिदा पनि नेपालसँग मेल नखाँदा हिसाब मिलाउन हम्मे हम्मे पर्ने गरेको छ । कतै कृसमस र न्यू एअर त कतै इदको पर्व अनि यस्तैमा सफ्टवेयरसमेत ह्याङ्ग भएपछि उनीहरुको पसिना छुटेको छ । मुस्लिम मुलुक सबैतिर यतिखेर इदको बिदा छ । उता आर्थिक वर्षको अन्तमा हिसाब मिलान गर्न नपाएपछि दूतावासको लेखा प्रणाली गञ्जागोल भएको हो । तर विद्वान र डाक्टर परराष्ट्रमन्त्रीलाई यतातिर कुनै चासो नभएको भन्दै युरोपस्थित एक जना नियोग उपप्रमुखले भने, ‘कसैलाई वास्ता छैन । हाम्रै मन्त्रालयको प्रशासन सम्हाल्ने हाकिम र भलादमी सचिव भरत पौडेलले पनि कुनै वास्ता गरेको देखिएन ।’

उनैले नेपालमा रहेका कार्यालयको हकमा २० गतेभित्र खर्च गर्नु भन्ने उर्दी एक हदसम्म ठीक होला भनेका छन् । तर अहिले मध्यपूर्वदेखि बंगलादेश,पाकिस्तान, कतार,ओमन,इजिप्ट,बहराइन,युएइ,र मलेसियामा इदको रमझम छ । ती मुलुकका सबै बैंक बन्द छन् । त्यहाँ चेक भुक्तानी नभएको धेरै दिन भएको छ ।

तर दूतावासले चेक काटिसकेको अवस्थामा बैंकबाट भुक्तानी भएको छैन । यसले अर्को लफडा निम्त्याएको छ । नियोगको तर्फबाट चेक काटेपछि सिस्टममा खर्च भइसकेको देखिन्छ । तर वास्तविक रुपमा पैसा बैंक खाताबाट कट्टा भइसकेको हुन्न । किनभने यतिखेर बैंक बन्द छ । यसरी नै राजदूतहरुले तत्काल हिसाब मिलाउन चर्कै दबाब दिएपछि लेखाअधिकृतहरुको रुवावासी भएको छ ।

टिप्पणीहरू