श्रीलंकाको भयावह अवस्थाबारे डा. प्रकाशको संक्षिप्त निचोड,हामीले कहिले मनन गर्ने ?

श्रीलंकाको भयावह अवस्थाबारे डा. प्रकाशको संक्षिप्त निचोड,हामीले कहिले मनन गर्ने ?

श्रीलंकाको भयावह आर्थिक संकटले छिमेकी मुलुकलाई समेत चिन्तित तुल्याएको छ । कृषि,पर्यटन,निर्यात व्यापार र रेमिट्यान्सबाट राम्रै अवस्थामा रहेको मुुलुक आर्थिक रुपमा एकाएक डुबेको छ । समुन्द्री टापु मुलुकको राजनीतिक संकट झन् गहिरिएको छ ।

हिजो राष्ट्रपतिको सरकारी निवास र कार्यालय तथा प्रधानमन्त्रीको निजी निवासमा दशौं हजार प्रदर्शनकारी छिरेका छन् । ज्यान जोगाउन राष्ट्रपति गोटाबाया राजापाक्ष निवास छाडेर अन्यत्र लुकेका छन् । उनले सभामुखमार्फत् आगामी बुधबार राजीनामा दिने बताएका छन् । प्रधानमन्त्री बिक्रमासिंघेले पनि सर्वदलीय सरकार गठनको निम्ति मार्ग प्रशस्त गरिदिन आफूले राजीनामा दिने बताएका छन् ।

यता आर्थिक संकटसँगै राजनीतिक संकट थपिएपछि सर्वसाधारणले कतिसम्म कष्टकर जीवन बिताएका छन् भन्ने हेर्न अब टाढा जानु नपर्ने भएको छ । राजनीतिमा बुध्दि नपुर्याउँदा त्यसले कुन हदसम्मको अराजकता ल्याउन सक्छ भने ज्वलन्त नमूना श्रीलंका भएको छ ।

श्रीलंकाको अवस्थासँग तुलना गर्दै नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बुध्दि नपुर्याउने हो भने हामी पनि उक्त अवस्थाबाट टाढा नरहेको संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमा आर्थिक अवस्था खस्किन थालेको संकेत गर्दै लेखेका छन्, ‘हालसम्मको स्थिति सबलै रहे पनि हामीकहाँ उत्पादनभन्दा बढ्दो उपभोगको संस्कृति,कमजोर निर्यात र बढ्दो आयात,आयातबाट नै कमाउन तल्लिन उद्योग व्यवसायीवर्ग,प्रतिस्पर्धी ढंगबाट अवलम्बन गरिएका सरकारका वितरणमुखी नीति,कमजोर प्रतिफल दिने गरी हुने गरेको असारे पुँजीगत खर्च,यत्रतत्र देखिने सुशासन र व्यवसायिकताको अभाव, बढ्दो आसेपासे पुँजीवाद, व्यावसायिक फाइदाका लागि गरिने राजनीतिक लबिङ, काम नगरी धनी बन्ने बढ्दो मनोकांक्षाले सम्पत्तिका मूल्य सदैव बढ्नुपर्छ भन्ने व्याप्त अवधारणा, सदैव राजनीतिको छायाँमा पर्ने आर्थिक मुद्दाले तय गर्ने दिशा पनि धेरै फरक नहुन सक्छ ।’

हाम्रो पनि विदेशी मुद्रा सञ्चिति घट्दो छ । आयात चुलिँदो भएको अवस्थामा निर्यात नगण्य छ । तीन वटै सरकार सर्वसाधारणलाई नगद वितरणमा तँभन्दा म के कम हुँदै गएका छन् । सुशासन आकाशको फल हुन थालेको छ । पुँजी बजारमा लगानी गरेर रातारात धनी हुने सपना सबैको छ तर उत्पादनमुखी औद्योगिक वातावरणतर्फ कसैको ध्यान छैन ।

जग्गामा लगानी गर्ने र मूूल्य बढाउने काममा केन्द्रीय बैंकका ठूला बडादेखि वाणिज्य बैंकका सिईओ र कर्मचारीले गच्छेअनुसारको योगदान गरेकै छन् । सरकार आयात बढाउने र राजश्व उठाउने योजनामा लागेपछि व्यापारी सामान मगाएर बेच्ने काममा तल्लिन भएकाले हामी पनि श्रीलंकाबाट धेरै टाढा छैनौं । प्रधानमन्त्री शेरबहादुर देउवादेखि मन्त्री सबै परिवारवादमा चुर्लम्म डुबेकाले पनि डा. श्रेष्ठले त्यसतर्फ संकेत गरेका हुन् ।

टिप्पणीहरू