झलनाथ र जनार्दनबीच हिजो के भयो सल्लाह ?

झलनाथ र जनार्दनबीच हिजो के भयो सल्लाह ?

हिजो दिउँसो नेकपा माओवादी केन्द्रका नेता तथा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निवास स्वयम्भू नजिकैको डल्लु पुग्नुभयो । पछिल्लो राजनीतिक परिस्थिति तरल बनेको अवस्थामा भएको हिजोको भेटलाई धेरैले धेरैथरि अर्थ लगाएका छन् ।

जनआस्थाले नेता शर्माका अति निकटस्थसँग हिजोको भेटघाटबारे सोधेको थियो । उनले शर्माको भनाई उद्धृत गर्दै भने,‘अरु केही होइन, पोलिटिकल कुरा गर्न गएको हुँ ।’

पोलिटिकलको व्याख्या गर्दै स्रोतले पार्टी एकताको सम्भावनाबारे छलफल भएको पुष्टि गरेको छ । कुराकानीमा नेता खनालले तत्काल एकता सम्भव नभएकोले मोर्चा बनाएर चुनाव लड्न सकिने बताउनुभएको बताइन्छ । माओवादी उच्च स्रोतको बुझाईमा अध्यक्ष नेपाल माओवादीसङ्ग पार्टी एकताको लागि तयार भए पनि नेता खनाल र अन्य धेरै चाहिँ त्यो बाटो जान अनिच्छुक छन् ।

शर्मा निकट स्रोतका अनुसार नेता खनालमा एमालेसँग मिलेर गए वामपन्थीले नै आगामी राष्ट्रपतिको चुनावसमेत जित्न सक्ने आत्मविश्वास देखिन्छ । नत्र वामपन्थी बिभाजनको फाइदा उठाउँदै जताततै काङ्ग्रेसको जगजगी चल्नेछ ।

उता एमाले अध्यक्ष ओलीलाई पनि अहिलेको सत्तारुढ गठबन्धन तोड्नैपर्ने बाध्यता छ । उहाँले जसपा,राप्रपा सबैतिर विभाजनको बीऊ रोपिसक्नुभएको छ । माओवादीलाई सकेसम्म त्यहि बाटोमा लैजान बालकोटले वर्षमान पुन,देव गुरुङहरुलाई कन्भिन्स गरिसकेको भन्दै एकथरिले पेरिसडाँडामा सम्भावनाका विविध पाटाको दिनहुँ विश्लेषण गर्न थालिसकेका छन् ।

यता नेकपा बनाउने क्रममा ०७४ मा ओलीको तर्फबाट विष्णुु पौडेल र पुष्पकमल दाहालको तर्फबाट जनार्दन शर्मा साक्षी बसेको र अहिले मन्त्रीबाट हटेपछि खाली हुन आएको समयलाई केही प्रयोग गर्ने उद्देश्यले हिजो शर्मा स्वयम्भू पुगेको अनुमान गरिएको छ ।

टिप्पणीहरू