बारमा मिलेर जिते एमाले र एकीकृत समाजवादीले

बारमा मिलेर जिते एमाले र एकीकृत समाजवादीले

तालमेल गरेर उठेका कारण हिजो सप्पन्न उच्च अदालत पाटन बारको निर्वाचनमा एमाले र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायीहरुले बाजी मारेका छन् । अर्कोतर्फ नेपाली काँग्रेस र माओवादीसँगै अन्य पक्षका कानुन व्यवसायीहरु थिए ।

निर्वाचनअघि माओवादीले एकीकृत समाजवादीसँग मिल्ने कुरा गरिरहँदा काँग्रेससँग हात बढाएको सूचना चुुहिएको थियो । त्यसपछि एमाले र एकीकृत समाजवादीका वकिलहरुले तालमेल गरिदिएका हुन् । नेपाली काँग्रेसका कानुन व्यवसायीहरुले पनि आफ्नो सिट सुरक्षित राखेर गठबन्धनको कुरो अघि बढाएका थिए ।

वामपन्थी बहुल बारको रुपमा चिनिएको पाटन उच्च अदालत बारमा १९ जनामध्ये एकीकृत समाजवादीले पाँच सीट लिएको थियो । जसमा उपाध्यक्ष,महिला सहसचिव,तीन जना सदस्य सबै विजयी भएका छन् । यसरी नै अध्यक्षसहित १४ जना एमालेनिकट कानुन व्यवसायीले जीत हात पारेका छन् ।

माओवादी र काँग्रेसको प्यानलबाट उठेका अध्यक्ष रामकृष्ण शर्माले २७१ मत पाउँदा एमाले र एकीकृत समाजवादीका संयुक्त अध्यक्ष शान्तिराम खतिवडाले एक हजार ६६ मत ल्याएका छन् । उपाध्यक्ष रामचन्द्र न्यौपानेले एक हजार २३ मत प्राप्त गर्दा काँग्रेस-माओवादी गठबन्धनका नारायण खरेलले २८४ मत पाएका हुन् ।

तालमेलको हिसाबले भोट राम्रै प्राप्त भएको बताइएको छ । एकीकृत समाजवादीको मात्रै उक्त बारमा तीन सय हाराहारी मत भएकाले विजयी अधिकांशले एक हजार मत कटाएका छन् । पराजित काँग्रेस र माओवादीका उम्मेदवारले तीन सयको हाराहारीमा मत पाएको देखिन्छ ।

समाजवादीका उपाध्यक्ष रामचन्द्र न्यौपाने नुवाकोटका कानुन व्यवसायी हुन् । समाजवादीका तर्फबाट महिला सहसचिवमा इन्दु कार्की,ईश्वर पुडासैनी,सुलभ खनाल र रामकुमार खतिवडा विजयी भएका हुन् । एमालेका कानुन व्यवसायीहरुको संगठन पीपीएलए हो भने समाजवादीको एसपीएलए हो ।

यसअघिको केन्द्रीय बारमा पनि यसैगरी तालमेल गरेर निर्वाचनमा गएको भए काँग्रेसले सबै पद जित्न नसक्ने पक्का थियो । त्यहि पाठका कारण अहिले एमालेहरु नै मिल्न आतुर भएको एकीकृत समाजवादीका कानुन व्यवसायीहरुको बुझाइ छ । एकीकृत समाजवादीसँग भएको हिजोको तालमेल र नतिजाले एमालेलाई हौस्याएको बताइन्छ ।

एमालेको तर्फबाट तालमेलको निम्ति वार्ताकार शिव अर्याल र सेवन्त निरौला थिए भने एकीकृत समाजवादीको तर्फबाट सोही बारका पूर्वअध्यक्ष मेजर थापा खटिए । पाटन उच्च अदालत बार देशकै सबैभन्दा धेरै मतदाता रहेको बार हो ।

टिप्पणीहरू