चिनियाँ पाहुनाको प्रचण्डसँग रात्रीभाेज, ओलीसँग दिवाभाेज

चिनियाँ पाहुनाको प्रचण्डसँग रात्रीभाेज, ओलीसँग दिवाभाेज

चिनियाँ कम्युनिष्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको सात सदस्यीय टोली आज बिहान काठमाडौं आइपुगेको छ । टोली बत्तिसपुतलीस्थित होटल द्वारिकामा बसेको छ ।

आजै दिउँसो ३ बजे चिनियाँ पाहुनाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उहाँहरुले सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग साढे ४ बजे भेट गर्नुहुने छ । परराष्ट्र मन्त्रालयमा भेटघाटपछि चिनियाँ पाहुनाको सम्मानमा मन्त्री खड्काले साँझ होटल मेरियटमा रात्रीभोज आयोजना गर्नुहुनेछ ।

भोलि बिहान चिनियाँ पाहुना टोली साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित विपी संग्रहालयको अवलोकनमा जाने छ । त्यहाँबाट फर्केपछि शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।

भोलि अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होटल सोल्टीमा भेटघाट राखिएको छ । त्यसपछि सोही होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ ।नेपाल भ्रमणको तेस्रो दिन चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुखले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास बालकोटमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म भेटघाट गर्नुहुनेछ । सोही दिन अपरान्ह ४ बजेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणको अन्तिम दिन बुधबार बिहान चिनियाँ पाहुना टोली बिहान ९ बजे बुढानीलकण्ठ नगरपालिका जाने कार्यक्रम छ । त्यहाँ एमाले जिल्ला कमिटी पूर्व अध्यक्ष कृष्ण राईसँगसमेत भेटेपछि टोली सोझै शीतल निवास झरेर बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछ ।

दिउँसो पौने ३ बजेदेखि साढे ३ बजेसम्म काठमाडौं नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन नेवाः मुक्ति मोर्चाका सचिव उमेश स्थापितलाई भेटेपछि दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म भूकम्पबाट क्षतिपछि पुनर्निर्माण गरिएका विभिन्न संरचनाको निरीक्षण गर्ने क्रममा चिनियाँ पाहुना टोली भक्तपुर पुग्नेछ ।

आगामी बुधबार राति सवा ११ बजे चिनियाँ टोली चार दिनको नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किने छ ।

टिप्पणीहरू