सत्ता र विपक्षी दुबै मध्यरात बजेट सक्ने खेलमा

सत्ता र विपक्षी दुबै मध्यरात बजेट सक्ने खेलमा

रोल्पाको थवाङ यस्तो ठाउँ हो जहाँ स्थानीयको अनुकूलमा प्रहरी र प्रशासन चल्नुपर्ने हुन्छ । यस्तै घटनाले थवाङ फेरि चर्चामा आएको छ । आज बिहानै गाउँपालिकाका कर्मचारीहरुले विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था आयो ।

आर्थिक वर्षको अन्तिम कारोबारका दिन शनिवार मध्यरातसम्म कर्मचारीहरु आफ्नो काममा व्यस्त थिए,सोही क्रममा एक हुल मान्छे गाउँपालिकाको कार्यालयमा प्रवेश गरे । केही कागजात हातमा लिएर आएका उनीहरुले मध्यरात जबर्जस्ती भुक्तानी गर्न दबाव दिएपछि कर्मचारीहरु सशंकित भए ।

काम पनि नभएको र हुँदै नभएको शीर्षकमा भुक्तानी गर्न दबाब दिएपछि कर्मचारीहरुले अस्वीकार गरे । त्यसपछि उनीहरुले कर्मचारीलाई धम्की र हातपातको प्रयास गरे । ‘थबाङ भएकाले यहाँ जे पनि हुन सक्ने’ भन्दै धम्काउन थालेपछि अहिले कर्मचारीहरु त्रसित भएका छन् ।

मदिरा सेवन गरेर मध्यरात भुक्तानी माग्नेहरुमा सत्तापक्ष र विपक्ष दुबै रहेको बताइएको छ । दुर्गम गाउँमा आएर सेवा प्रवाह गरिरहेका कर्मचारीहरुमाथि असुरक्षाको प्रत्याभूत हुनेगरी भएको घटनाले कर्मचारीहरुले असुरक्षित महसुस गरेका छन् । ‘विगतमा सदरमुकामबाटै काम नभएको हैन’ एक कर्मचारीले भने ‘फेरि पनि त्यस्तो अवस्था आउन सक्छ ।’

तत्कालीन गाविस हुँदा थबाङका सबै सरकारी काम सदरमुकामबाटै हुने गरेको थियो । देश संघीय संरचनामा गएसँगै सम्पूर्ण प्रशासनिक काम गाउँपालिकाबाट हुन थाले पनि पाँच वर्षपछि फेरि कर्मचारीहरुले विज्ञप्ति नै जारी गरेर काम गर्न असहज भएको जनाएका छन् ।

थवाङमा दोस्रो कार्यकालमा पनि माओवादी केन्द्रका उम्मेदवारले नै जितेका छन् । अघिल्लो निर्वाचनमा विप्लव समूहका स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गरेको माओवादीले यस पटक विप्लवकोसमेत समर्थन पाएका स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गरेको थियो । अघिल्लो निर्वाचनमा साविकको थबाङ गाविसका अमित घर्तीलाई पराजित गर्दै उवा गाविसका वीरबहादुर घर्ती विजयी भएका थिए । यस पटक भने थवाङका दरजित रोकालाई पराजित गर्दै थबाङकै ऋषिकेशव बुढा विजयी भएका हुन् ।

पाँच वटा वडा रहेको गाउँपालिकामा अघिल्लो पटक एउटा वडा विप्लव समूहले जितेको थियो भने अहिले एउटा वडा एमालेले जितेको छ ।

टिप्पणीहरू