ऐन महरले एकलौटी गर्न खोजेपछि बझाङ एमालेमा भाँडभैलो

ऐन महरले एकलौटी गर्न खोजेपछि बझाङ एमालेमा भाँडभैलो

पार्टीभित्रको गुटगत लडाइँले निर्धारित समयभन्दा छ महिनापछि शुरु भएको नेकपा एमाले बझाङको आठौँ जिल्ला अधिवेशन स्थगित गरिएको छ । असार २२ गते उदघाटन गरेर बन्दसत्रमा प्रवेश गरेको अधिवेशन पदाधिकारी चयनमा लफडा हुँदा स्थगित भएको हो ।

गत पुसमै अन्य जिल्लाको अधिवेशन सम्पन्न भएपनि बझाङमा भने केन्द्रीय नेताको स्वार्थ टकराएका कारण हिमपातको बहाना गरेर अनिश्चितकालका लागि सारिएको थियो । असार २२ गते अधिवेशन त उद्घाटन भयो । तर, कमिटी कहिले बन्ने, पदाधिकारी कसले छान्ने अझै टुंगो लागेको छैन । अध्यक्षमा दमन भण्डारीको एकल उम्मेदवारी परेपछि अघिवेशनको चौथो दिन उनी निर्विरोध भएको घोषणा गरियो तर अरु पदाधिकारी र जिल्ला कमिटी सदस्य चयन कहिले हुने हो अत्तोपत्तो छैन ।

अधिवेशनमा भाडभैलो हुने थाहा पाएपछि बझाङ जान भनेर काठमाडौँबाट निस्केका महासचिव शंकर पोख्रेल धनगढीमै रोकिएका थिए । ‘जहाज क्यान्सिल भएको र सडक मार्गबाट जाँदा वर्षामा अप्ठेरो पर्ने भनेर बझाङको यात्रा रोकी पोखरेल दुई दिन कैलाली,कञ्चनपुरमै घुमेका थिए ।लफडा चर्किंदै जाँदा केन्द्रीय सदस्य तथा जिल्ला इन्जार्ज भैरवबहादुर सिंहले निर्वाचन कमिटीलाई पत्र लेखेर अर्को सूचना नभएसम्मका लागि निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न आग्रह गरेका छन् । उनले प्रतिनिधिको हाजिरी नहुँदा पहिचान गर्न नसकिएको,को-को प्रतिनिधि हुन् भन्ने स्पष्टता नभएको जस्ता कारण देखाउँदै अधिवेशन स्थगित गर्न भनेका हुन् । त्यस्तै, उम्मेदवारी दिएका अधिकांशको मापदण्ड नपुगेको, उनीहरुविरुद्ध उजुरी परेको,पार्टीले तोकेको लेबी नउठेको, नेतृत्व चयन सर्वसम्मत गर्ने सहमति उल्लङ्घन भएको र चुनावी प्रक्रियामा जाँदा धाँधली हुनसक्ने भन्दै निर्वाचन समितिलाई निर्वाचन रोक्न लिखित अनुरोध गरेका हुन् ।

सिंह अध्यक्षमण्डलका अध्यक्ष पनि हुन् । उनीसंगै केपी ओलीका खास भित्रिया हुँ भनेर स्वघोषणा गर्ने आशा बिक,ऐन महर र अफिलाल उखेडा सदस्य छन् । सिंह,बिक, महर र उखेडा केन्द्रीय सदस्य पनि हुन् । अनेरास्ववियुको पूर्वअध्यक्ष समेत रहेका महरले एकलौटी गर्न खोजेपछि नेतृत्व चयन प्रक्रिया अप्ठेरोमा परेको जिल्लास्तरीय एक नेताले बताए । माइतीघरमा ‘आई लभ यू केपी बा’ को नारा लगाएर बालकोटको विश्वास जितेका महर निर्वाचन कमिटीमा हावी भएको र उनले एकलौटी पदाधिकारी बनाउने प्रयास गरेपछि सिंह पत्र लेखेर अधिवेशन स्थगित गराउन बाध्य भएको ती नेताले सुनाए ।

जिल्ला अधिवेशनमा ८९५ जना प्रतिनिधि छन् भनिए पनि स्पष्टरुपमा नाम तयार गरिएको छैन । जिल्ला अध्यक्षमा पनि एमालेका पूर्वकेन्द्रीय उपाध्यक्ष डा. भीमबहादुर रावलनिकट भनेर संविधानसभाका सदस्य एलबी रावल र जयपृथ्वी नगरपालिका निवर्तमान प्रमुख वीरेन्द्र खड्कालाई पछाडि हट्न बाध्य बनाएर दमन भण्डारीलाई फेरि जिल्ला अध्यक्षमा निर्विरोध बनाइएको स्थानीय नेताको दाबी छ । उपाध्यक्ष, सचिव, उपसचिवका दर्जनौँ दावेदार सबै ‘बा’ निकट हुँदा झन् अप्ठेरो परेको बताइन्छ।

स्थानीय चुनावको परिणामले बझाङमा एमाले विभाजनको ठूलो असर परेको देखिन्छ । ०७४ मा १२ मध्ये ८ पालिका जितेर जिल्ला समन्वय समिति बनाएको एमालेले यसपटक तीन पालिकाका प्रमुख र तीन उपप्रमुख मात्र जितेको छ । जिल्लामै बसेर काम गर्ने नेताहरु पछिल्लो द्वन्द्वले प्रतिनिधिसभा र प्रदेशसभामा झन ठूलो असर पर्ने चिन्तामा छन् ।

टिप्पणीहरू