चिनियाँ पाहुनालाई काँग्रेसले भन्यो, ‘हामी गठबन्धनमा जाँदैनौं !’
कूटनीतिक मर्यादा मिचेर पश्चिमा शक्तिसंग लहसिएको आरोप खेपिरहेको सत्तारुढ नेपाली काँग्रेसले चिनियाँ विदेश विभागका प्रमुख लिउ जियान्चओसँग नेपाल कुनैपनि देशको सैन्य गठबन्धनमा नजाने स्पष्ट पारेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नतालाई लिएर चासो व्यक्त गरिरहेको छिमेकी चीनलाई आश्वस्त पार्दै काँग्रेसले यस्तो धारणा राखेको महामन्त्री गगन थापाले बताएका हुन् ।
नेपालको चार दिने औपचारिक भ्रमणका लागि हिजो काठमाडौँ झरेलगत्तै उच्चस्तरीय भेटघाटमा रहेको चिनियाँ टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटेको थियो । चिनियाँ नेताको सम्मानमा कांग्रेस नेताको हैसियतले परराष्ट्र मन्त्री खड्काले आयोजना गरेको रात्रिभोजमा यस्तो धारणा राखेको महामन्त्री थापाको भनाइ छ ।
‘आइतबार राति चिनियाँ नेताको सम्मानमा आयोजित रात्रिभोजमा हाम्रो पार्टीका पदाधिकारीले स्पष्टसँग नेपाल–चीन सम्बन्धबारे आफ्नो धारणा राख्नु भएको छ । हामीले चीनलाई बीपी कोइरालाको पालादेखिको सम्बन्धमा असर नपर्ने गरी चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छौं । हामीले स्पष्टसँग भनेका छौँ चीनलाई कि एमसीसी लिन्छौं, बीआरआइमा पनि सहभागी हुन्छौं,तर कुनै पनि सैन्य संगठनमा पस्दैनौं,’ ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हामी विकास सहायता चाहन्छौं, तर कुनै सैन्य संगठनमा पस्दैनौं । हामीलाई भारत, चीन, अमेरिका सबै देश चाहिन्छ । हाम्रो देशमा विकासका लागि सबै देशको सहयोग आवश्यक पर्छ ।’
महामन्त्री थापाले विकासका लागि नेपाललाई खर्बौं रुपैयाँ वैदेशिक सहायता आवश्यक रहेको उल्लेख गर्दै विभिन्न देशसँग सैन्य संगठनको विषयलाई लिएर विवादमा नअल्झिने कांग्रेसको स्पष्ट धारणा राखेको पनि बताए ।
चिनियाँ नेता लिउलाई नेपालका राजनीतिक दलहरूलाई अनावश्यक सल्लाह र सुझाव नदिन र नभड्काउन पनि आग्रह गरेको उनले बताए ।
टिप्पणीहरू