शैक्षिक क्षेत्रमा व्यापारीकरण भयो : राप्रपा विद्यार्थी संगठन
राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शिक्षालाई व्यापारीकरण हुनबाट जोगाउन माग गरेको छ । संगठनले आज ११ बुँदे मागसहित शिक्षामन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिनुपर्ने, समयमै पाठ्यपुस्तक र पाठ्यसामग्री उपलब्ध गराइनुपर्ने, सामुदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्ने, शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्व सम्झेर सर्वसुलभ नीति बनाउनुपर्नेलगायतका माग राखिएको छ ।
त्यसैगरी, विद्यार्थीलाई सार्वजनिक यातायातमा दिइने भनिएको ४५ प्रतिशत छुट कडाइसाथ कार्यान्वयन गर्न, शैक्षिक संस्था र विश्वविद्यालयहरुमा भागबण्डाद्वारा गरिने पदपूर्ति अन्त्य गर्न पनि संगठनले भनेको छ ।
शैक्षिक संस्थाहरुमा हुने सनातन धर्मविरुद्धका धर्म प्रचारका विभिन्न क्रियाकलापहरुलाई पूर्ण रुपमा रोक लगाउन, स्ववियू निर्वाचन तत्काल गर्न संगठनले जोड दिएको छ । आफ्ना माग पूरा नभए सशक्त आन्दोलनमा जाने चेतावनी संगठनको छ ।

टिप्पणीहरू