ज्ञापनपत्र बुझाउन गएका एक दर्जन विद्यार्थी प्रहरी नियन्त्रणमा
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा तोडफोड भएको छ । ज्ञापनपत्र बुझाउन गएका नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुका विद्यार्थीले आक्रोशित भएर तोडफोड गरेका हुन् ।
त्रिविमा देखिएका विभिन्न समस्या उठान गरेर ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीले उपकुलपति नभेटेपछि भाँडभैलो गरेका थिए । केन्द्रीय कार्यवाहक अध्यक्ष माधव पन्तको नेतृत्वमा त्रिवि पुगेका विद्यार्थी टोलीले आक्रोशमा आएर टेबल, कुर्सी, दराजलगायतका सामग्री तोडफोड गरेको भन्दै प्रहरी टोलीले पन्तसहित ११ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रि.वि.कमिटी संयोजक शोभा बम ठकुरी,स्थायी कमिटी सदस्य प्रेम विश्वकर्मा, विपिन पराजुली, सचिवालय सदस्य समिर गौतम,प्रकाश थापा, प्रज्वल विक्रम थापा रहेका छन् ।
त्यसैगरी,शंकरदेव क्याम्पस अखिल फोर्स केन्द्रीय सचिव सन्तोष शेर्पा,कैलाशराज गिरी र नरदेव उपाध्यायलाई पनि नियन्त्रणमा लिई प्रहरी वृत्त,कीर्तिपुर लगिएको छ ।
पछिल्लो समय त्रिविले चरम लापरवाही गर्दै आएको छ । त्रिवि व्यवस्थापन संकाय डिन कार्यालयले सञ्चालन गरेको बिबिएस छैठौं सेमेस्टरको परीक्षामा पाँचौं सेमेस्टरको प्रश्नपत्र दोहोरिएको थियो ।
टिप्पणीहरू