केपीद्वारा आज पनि सरकारको उछित्तो

केपीद्वारा आज पनि सरकारको उछित्तो

सरकारविरुद्ध कठोर टिप्पणी गर्ने गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आज पनि प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि खनिनुभएको छ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले कोपुण्डोलमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा उहाँले सरकार श्रीलंकाको बाटोमा हिँडेको आरोप लगाउँदै विरोध गर्नुभएको हो ।

ओलीले सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण,कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा देखिएको दाबी गर्नुभयो । बजेट निर्माणमा ‘अनाडी मान्छे’हरू सँलग्न हुने, व्यापारीका प्रतिनिधिहरूले लाभको हिसाबकिताब मिलाउने जस्ता कारणले देशको अर्थतन्त्र ध्वस्त भएको उहाँको भनाइ छ ।

करको दर,अन्तशुल्क छुट दिनेजस्ता विषयमा अनाधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी अवान्छित तत्वहरूको हात घुसाउने काम सरकारले गरेको ओलीको आरोप छ । उहाँले भन्नुभयो, ‘हतियार खरिद न रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ । न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्छ । अर्थमन्त्री एउटैको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा,हतियार खरिद प्रकरणमा गरिएका कुराहरू, पृष्ठभूमिमा देखिएको भरथेग त्यति सहज छैन भन्ने देखाउँछ । यसको प्रभाव कम्तिमा श्रीलंकामा पुग्ने लक्षण देखिँदैछ ।’

टिप्पणीहरू