अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा गाउँपालिकाले लियो
बाबुआमा गुमाएका तथा हराएका परिवारका सन्तानलाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले निःशुल्क पढाउने भएको छ । गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको हो । शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन गाउँपालिका कार्यविधि नै बनाएको छ ।
हाल त्यस्ता बालबालिकाको तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । अभिभावक नभएका बालबालिका पढ्नबाट वञ्चित हुनुपर्ने अवस्था बढ्दै गएकाले निःशुल्क गराउन लागिएको हो ।
उक्त प्रयोजनको निम्ति गाउँपालिकाले नीति कार्यक्रममा आवश्यक बजेट छुट्याएको छ । गाउँपालिकाभित्रका विद्यालयमा घट्दै गएको विद्यार्थीको संख्या बढाउन, शिक्षालाई गुणस्तरीय र शिक्षकको मनोबल वृद्धि गर्न पालिकामा उत्कृष्ट हुने शिक्षकलाई सम्मानसमेत गर्ने नीति गाउँपालिकाको रहेको छ ।
टिप्पणीहरू