पोखरा महानगरका सामुदायिक विद्यालयलाई स्कुल बस

पोखरा महानगरका सामुदायिक विद्यालयलाई स्कुल बस

पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । महानगर शिक्षा महाशाखाले आयोजना गरेको कार्यक्रमबाट लेखनाथ क्षेत्रका चार वटा सामुदायिक विद्यालयलाई एक-एक वटा बस दिइएको हो ।

पोखरा–२९ को जनप्रकाश मावि, पोखरा–३० को त्रिभुवन शान्ति मावि, पोखरा–३१ को अमरसिंह मावि र पोखरा–३२ को ब्रह्मरुपा माविलाई महानगर प्रमुख धनराज आचार्यले स्कुल बसको साँचो हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित विद्यालयले १२ लाख ५० हजार रुपैयाँ र महानगरको पनि सोही बराबरको लगानीमा बस खरिद गरिएको हो । एक करोड एक लाख लागत र भन्सार छुट सुविधामा टाटा कम्पनीका चार वटा स्कुल बस ल्याइएको महानगरले जनाएको छ । बसमा चालक बाहेक ४० सिट क्षमता छ ।

बस हस्तान्तरण गर्दै मेयर आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई सामुदायिक विद्यालय बन्ने गरी गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको आकर्षण बढाउन यो कार्यक्रम ल्याएको बताउनुभयो । पोखरामा साना बालबालिकालाई बोर्डिङको नाममा घण्टौँसम्म बसमा चढाएर विद्यालय पुर्याउने गरिएको भन्दै त्यसरी राम्रो सिकाई नहुने प्रमुख आचार्यको भनाइ छ ।

पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्छन् ।

टिप्पणीहरू