जनार्दन शर्मामाथि आजैदेखि छानबिन थालिने
अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदको विशेष समितिको औपचारिक बैठक बस्ने भएको छ । सिंहदरबारमा आज बस्ने बैठकले कार्यविधि तय गर्ने र समितिको संयोजक चयन गर्ने बताइएको हो ।
अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर आगामी बजेटमा करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट औपचारिक रूपमा काम थाल्न लागेको हो ।
आफू माथि लगाइएको आरोपबारे संसदीय छानबिन समितिलाई छानबिनको निम्ति सहज बनाउन असार २२ गते अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको बताएका थिए । शर्माले आफू निर्दोष रहेको पटक पटक बताएका छन्।
संसदीय विशेष समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला यादव, पुष्पा भुसाल, सीताराम महतो र सुरेन्द्र यादव छन् । समितिले काम थालेको १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश दिइएको छ ।
टिप्पणीहरू