भारतीय दूतावासकै महिला कर्मचारीले झोला छाडेपछि “बम आतंक”

भारतीय दूतावासकै महिला कर्मचारीले झोला छाडेपछि “बम आतंक”

काठमाडौंस्थित भारतीय दूतावासमा नयाँ राजदूत नवीन श्रीवास्तवको आगमनसँगै थरिथरिका दुःखद् घटना भएका छन् । दुई साताअघि राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेर जिम्मेवारी थालेको चौथो दिन भित्रैका एक जना भारतीय सुरक्षाकर्मीले गोली हानेर आत्महत्या गरेका थिए ।

आज फेरि त्यहि दूतावासमा काम गर्ने एउटी महिलाले पर्खाल बाहिर शंकास्पद दुई वटा झोला राखिदिएका कारण भारतीयसँगै छेउको बेलायती राजदूतावासका कर्मचारी,नेपाल प्रहरी,सेना,सशस्त्र र अभिनेता राजेश हमालको घर वरिपरिका सर्वसाधारणले करिब तीन घण्टा सास्ती झेल्नु पर्यो । बिहान साढे ११ बजे भारतीय दूतावासको पर्खालमुन्तिर दुई वटा शंकास्पद झोला राखिएपछि सो क्षेत्रमा तनाव भएको हो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त झोलामा बिस्फोटक पदार्थ नभएको प्रमाणित गरेसङ्गै अहिले दूतावासको गल्लीमा हिँडडुल शुरु भएको छ । त्यसपछि प्रहरीले भारतीय दूतावासभित्रको सिसिटिभि गएर हेर्दा फुटेजमा देखिएकी एउटी महिलालाई नियन्त्रणमा लिई अहिले सोह्रखुट्टे प्रभाग लगिएको छ ।

सिसिटिभीमा उक्त झोला त्यहाँ बेवारिसे अवस्थामा छाड्ने महिला भारतीय दूतावासभित्रै काम गर्ने परिचर हुन् । उनले त्यहाँ शंकास्पद झोला किन छाडिन् भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

टिप्पणीहरू