हँसिला बालबालिका परियोजनाबाट ३६ सयबढी विद्यार्थी लाभान्वित

हँसिला बालबालिका परियोजनाबाट ३६ सयबढी विद्यार्थी लाभान्वित

चीनको ग्लोबल डेभलपमेन्ट र दक्षिण–दक्षिण सहयोग कोषको सहयोगमा सञ्चालित नेपाल हँसिला बालबालिका परियोजना काठमाडौंमा शुभारम्भ भएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार परियोजनाअन्तर्गत तीन हजार छ सय नेपाली विद्यार्थी लाभान्वित हुनेछन् ।

नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्चाओ, ऊर्जा र सिँचाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले हिजो राजधानीको भित्री भागमा रहेको एउटा विद्यालयमा आयोजित उद्घाटन समारोहमा उक्त परियोजनाको शुभारम्भ गर्नुभएको हो ।सो अवसरमा बोल्दै लिउले उक्त परियोजना विश्वव्यापी विकास र दक्षिण–दक्षिण सहयोग कोषद्वारा सञ्चालित पहिलो परियोजना भएको उल्लेख गर्दै भन्नुभयो, ‘चीनले दुवै देशका ,गैरसरकारी संस्थाहरूलाई निरन्तर सहयोग बढाउन प्रोत्साहन र सहयोग गरिरहने छ ।’

त्यसैगरी मन्त्री भुसालले ‘नेपालको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जलस्रोत र खेलकुद विकासमा चिनियाँ आर्थिक तथा प्राविधिक सहयोगले ठूलो योगदान रहेको,’ उल्लेख गर्नुभएको सिन्ह्वाले जनाएको छ । साथै उहाँले नेपालको विकासको निम्ति चीनको सहयोग आवश्यक रहेको र चीनको अनुभव, प्रविधि र अर्थतन्त्रले नेपाललाई समृद्धिको दिशातर्फ अघि बढाउन मद्दत गर्नसक्ने धारणा राख्नुभएको हो ।विकासोन्मुख मुलुकका भोकमरीबाट गुज्रिरहेका बालबालिकालाई खाना उपलब्ध गराउने उद्देश्यले सन् २०१५ मा सुरु गरिएको सो परियोजना २०२१ को अन्त्यसम्म इथियोपिया, सुडान, नेपाल, म्यानमार र पाकिस्तानमा बिस्तार भइसकेको छ । यसबाट ९१ हजार बढी बालबालिका लाभान्वित भएका छन् ।

सन् २०२० को मे महिनामा सुरु भएको ‘हँसिला बालबालिका परियोजना’ मा अहिले राजधानी काठमाडौंलगायत दोलखा, महोत्तरी र सप्तरीका तीन हजार छ सय विद्यार्थी समेटिएका छन् ।

टिप्पणीहरू