आरजूलाई गाली गर्दै एमाले कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाए

आरजूलाई गाली गर्दै एमाले कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाए

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले हतियार किन्ने सरकारको निर्णयविरुद्ध आज काठमाडौँमा प्रदर्शन गरेको छ । नयाँ बानेश्वरस्थित संघको केन्द्रीय कार्यालय अगाडि भेला भएका एमाले युवाहरुले देशमा चरम आर्थिक संकट उत्पन्न भएका बेला सरकार हतियार खरिदमा लागेको भन्दै मशाल जुलुससहित विरोध प्रदर्शन गरेका हुन् ।

युवासंघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा उपाध्यक्ष महाराज गुरुङ्ग, उपाध्यक्ष क्षितिज थेबे, युथफोर्सका अध्यक्ष पुष्प श्रेष्ठ, महासचिव रामजी सापकोटा, सचिवालय सदस्य समुन्द्र तिमल्सिना, केन्द्रीय सदस्य वकील बम, केन्द्रीय सदस्य मन्दिप क्षेत्रीसहित करिब चार दर्जन युवा प्लेकार्डसहित प्रदर्शनमा सहभागी थिए ।

सो क्रममा एमाले कार्यकर्ताहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले ‘गठबन्धनको उपहार, महंगी र भ्रष्टाचार !’, ‘भ्रष्टाचारको मतियार, किन चाहियो हतियार !’, ‘आरजू भाउजू रानी हुन्, भ्रष्टाचारको खानी हुन् !’, ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा !’, ‘नालायक सरकार होशियार, महंगो पर्ला हतियार !’ जस्ता नारा लगाएका थिए ।प्रदर्शनपछि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत दहन गरेका थिए ।

टिप्पणीहरू