भानु जयन्ती पारि पनि उत्तिकै मनाईंदै
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी, रम्घामा जन्मिएका भानुभक्त आचार्यको आज २०९औँ जन्मजयन्ती हो । आचार्यको सम्झनामा देश विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा कलम चलाउने संघ संस्थाले नेपाली साहित्यको धरोहरको रूपमा भानुभक्तलाई मान्दै आएका छन् । नेपालमा मात्रै नभएर म्यान्मार, भुटान, भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषी रहेका अधिकांश मुलुक तथा क्षेत्रमा धुमधामसँग भानु जयन्ती मनाउन कार्यक्रमको आयोजना गरिएको छ ।
त्यो बेलामा एक सामान्य घाँसीले दिएको उपदेशलाई शिरोधार्य गरेर असल कर्ममा लागेका भानुभक्त अन्ततः आदिकवि बन्न सफल भएका हुन् ।
संस्कृत भाषामा लेखिएको रामायणलाई उनले नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यमा ठूलो गुन लगाएका छन् ।
उनले लेखेका अन्य प्रशिद्ध कृतिहरूमध्ये ‘बधुशिक्षा’ दोस्रो प्रसिद्ध साहित्यिक कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर जस्ता धेरै कृतिहरू नेपाली साहित्यका अब्बल कृति मानिन्छन् ।
भोलिवाद अहिले जनजिब्रोमा झुन्डिने गरेको शब्द हो । भानुभक्तले भोलिवादबारे उल्लेख गर्दै लेखेका छन्, ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ कविता अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
टिप्पणीहरू