गभर्नरको भाषण र कार्यक्रममा ‘ब्रेक’

गभर्नरको भाषण र कार्यक्रममा ‘ब्रेक’

हिजोदेखि पार्टी जिम्मेवारीमा आवध्दताको विवादमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज कुनैपनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । मौद्रिक नीतिसँग सम्बन्धित विभिन्न कार्यक्रममा दैनिकजसो बाक्लै देखा पर्दै आएका अधिकारी विवादमा तानिएको दोस्रो दिन कतै ननिस्केका हुन् ।

आज चार्टर्ड एकाउन्टेण्ट संघले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी प्यानल डिस्कसनमा अधिकारीको सहभागिता आयोजकले अपेक्षा गरेको थियो । तर, पूर्वनिर्धारित कार्यक्रममा गभर्नर अधिकारीले डेपुटी गभर्नर बमबहादुर मिश्रलाई पठाइदिएका छन् ।

गभर्नर अधिकारी एमालेको विभागीय जिम्मेवारीमा बसेको खुलासा भएपछि विवादमा परेका हुन् । अध्यक्ष केपी ओलीले हालै जारी गरेको अन्तर पार्टी निर्देशिका (अपानि) मा घनश्याम भुसाल नेतृत्वको अर्थ तथा योजना विभागमा ‘एम अधिकारी,खोटाङ’ सदस्य रहेको उल्लेख छ । उक्त नामको व्यक्ति केन्द्रीय बैंकको नेतृत्वमा रहेका अधिकारी नै भएको खुलेपछि विरोध शुरु भएको हो । गभर्नर नियुक्त हुनुअघि उनी महाप्रसाद अधिकारीकै नामले सोही विभागको १६ औं नमूनामा थिए । अहिले ३ नम्बरमा उक्लेका हुन् ।

उनको बर्खास्तीको माग गर्दै सडकदेखि सदनसम्म आवाज उठेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसदहरूले गभर्नरको पदीय मर्यादाबारे प्रश्न उठाउँदै अधिकारीमाथि छानबिनको माग गरेका थिए । माओवादीको भ्रातृ संगठन वाइसिएल र अखिल क्रान्तिकारीले पनि उनको बर्खास्तीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

हरेक मुद्दामा तत्काल प्रतिक्रिया जनाउने एमालेले भने यो विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । गभर्नर अधिकारीले आफू उक्त एम अधिकारी नामक व्यक्ति नभएको दाबी गरेका छन् । यद्यपि एमालेले ‘एम अधिकारी’ नाम गरेको व्यक्ति सार्वजनिक नगर्दासम्म उनीमाथिको शंका कायमै रहन्छ ।

गभर्नरको इज्जत जोगाइदिन खोटाङकै कोही कसैलाई एम अधिकारी बनाइदिएमा कुनै आश्चर्य मान्न नपर्ने माओवादीका एक जना नेताले बताएका छन् । उनले भने, ‘कसैलाई एम अधिकारी डमी बनाएर देखाउन सकिएला तर उनी अर्थविद् र योजनाविज्ञ चाहिँ कसरी बन्लान्, हेर्नुपर्ला ।’

टिप्पणीहरू