रक्सीले मात्तिएका महिलाले देखाए प्रहरी कार्यालयभित्रै अभद्र व्यवहार
घटना सामान्य भए तापनि प्रहरीले बुद्धि नपुरयाउँदा त्यही सामान्य घटना अहिले प्रहरीको टाउको दुःखाईको विषय बनेको छ । जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रमुख लिमा वान कृष्णबहादुर कार्की आमाको ४५ दिनको कर्म गर्न असार २७ गते घर बिदामा बसे । लिमा टु जनप्रिय इन्स्पेक्टर जगदिश रेग्मी पनि केही दिनदेखि घर बिदामा बसेका हुन् ।
केही महिनाअघि मात्रै लमजुङ आएका लिमा थ्री विष्णु बिक परिवेश खासै बुझेका छैनन् । तर त्यही दिन रातको ११ बजेतिर कन्ट्रोलमा सुकबहादुर नामका कसैले फोन गरेर बेसीशहर–८ दुलाल चोकमा एउटी महिलाले आफन्तलाई तथानाम गाली बेइज्जती गरेर छिमेकीलाई तनाव दिएको जानकारी गराइदिए ।
कन्ट्रोलले बसपार्क एरियामा ड्युटीमा रहेका प्रहरी जवान किरण केसीलाई सेटमा के भएको हो बुझ्न लगायो । लोग्ने र छिमेकलाई तथानाम गाली गर्दै रक्सीले उन्मत्त भएर आँगनमा उफ्रिएकी दुई बालबालिकाकी आमा सबला दुलाल नेपालीले त्यहाँ पुगेका प्रहरी जवान केसीलाई तथानाम मात्रै गाली गरिनन्, उल्टै खेदेर डाँडा कटाइन् ।
केसीले शेरा चोकमा ड्युटीमा रहेका मोबाइल टू लाई खबर गरे । एक जवान र हवल्दारसहित त्यहाँ पुग्दा उनको पारा उग्रचण्डीभन्दा कम नरहेको भनेर जानकारी गराइदिए । ढुंगा उचालेर प्रहरीमाथि बर्साउन खोजेपछि भागेका उनीहरूले थप मद्दतका लागि कन्ट्रोलमा खबर गरे ।
कन्ट्रोलले प्रहरी सहायक निरीक्षक होमबहादुर थापाको नेतृत्वमा पठाएको टोलीले उनलाई होहल्ला नगर्न सम्झाउन खोजेको बताइन्छ । तर प्रहरीलाई अपशब्द प्रयोग गर्न थालेपछि उचालेर गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय पुर्याए । सबलाले त्यहाँ पनि भन्नु नभन्नु भनिन् (जुन भिडियो सुरक्षित छ) ।
त्यत्ति मात्रै त प्रहरीले सहेकै थिए । तर पातलो ज्यानकी महिला प्रहरी मालती रानालाई कपाल लुछ्दै घोप्ट्याएर सबलाले नै कुट्न थालेपछि प्रहरीले उनलाई सामान्य बल प्रयोग गरी नियन्त्रणमा लिएको प्रहरी स्रोतले दाबी गरेको छ । सोही दिन बिहान ४ बजेतिर उनका श्रीमानलाई सकुशल जिम्मा लगाएर पठाए पनि ३५ वर्षीय ती महिलाले प्रहरीले आफूलाई बिना कारण निर्घात कुटपिट गरेको आरोप लगाएकी हुन् ।
जिल्ला अस्पताल लमजुङ्गमा उपचार गराएकी दुलालले आफ्नो तिघ्रामा निलडाम हुने गरी प्रहरीले बुटले कुटेको आरोप लगाइन् । त्यसपछि दुलाल टोलका दलित महिलाहरुले प्रहरी कार्यालय घेरेर प्रहरीविरुद्द दुई दिन नाराबाजी गरे । जब पोखराबाटै डिएसपी कृष्णबहादुर कार्कीले दोषीमाथि कारबाही, घाइतेको उपचार गर्ने भनेपछि स्थिति सामान्य भएको थियो । अहिले सबलाको थप उपचारको निम्ति पोखरा लगिएको छ ।
मादक पदार्थ सेवन गरेकी, सीमा नाघेर उद्दण्ड व्यवहार देखाएकी महिलालाई उठाएर ल्याउँदा अहिले जिल्ला प्रहरी कार्यालयका सबैले दुःख पाएका छन् । यता, दिनहुँजसो सो घटनामा संलग्नहरुलाई स्पष्टीकरण सोधेर हैरान पारिएको छ ।
२७ गते सबलाले मच्चाएको तहल्का नसेलाउदै २८ गते राति बेसीशहर कै मनाङे चौतारा नजिक रक्सीले उन्मत्त मैयाँ परियारले पनि त्यस्तै गरिन् । रक्सी सेवनपछि मातेर उधुम मच्चाएकी मैयाँविरुद्ध काँग्रेसका पराजित वडाध्यक्ष सन्तोष बस्नेतले प्रहरीमा खबर गरेका थिए । उनलाई पनि उठाएर जिल्ला प्रहरी कार्यालय पुर्याइयो ।
कन्ट्रोल डिउटीमा थिए असई बोलकुमार श्रेष्ठ । परियारले उनीमाथि फोहोरी शब्द प्रयोग गर्दै अशिष्ट वाक्यमा प्रहरीलाई सराप्न थालिन् । प्रहरीले कान थुनेर परियारले बोलेकोकुराप्रति ध्यान दिएन । रक्सीले छाड्दै गएपछि संयमित बन्दै गएकी परियार लाजले भुतुक्क भइन् । ‘सर मलाई छाडिदिनु, सरी है भन्दै हात जोड्न थालेपछि कागज गराई छाडियो,’ प्रहरीले भन्यो ।
टिप्पणीहरू