पर्यटन मन्त्रालयमा नाइजेरियाली राजदूत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदूत अहमद सुलेले शिष्टाचार भेट गर्नुभएको छ । आज भएको भेटमा उहाँहरूबीच नेपाल र नाइजेरियाबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका साथै नेपालको पर्यटन विकास एवम् प्रवद्र्धनबारे विचारविमर्श भएको हो ।
सो अवसरमा मन्त्री श्रेष्ठले प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक सम्पदा विविधताले भरिपूर्ण नेपाल पर्यटनका लागि आकर्षक गन्तव्य रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पर्वतारोहण, पदयात्रा तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न उल्लेख्य संख्यामा विदेशी पर्यटक नेपाल आउने गरेका छन् ।’
कोभिड महामारीको असर कम भएपछि नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनको योजना अघि बढाइएको मन्त्री श्रेष्ठको भनाइ छ । प्राकृतिक, आर्थिक र सांस्कृतिक विविधतामा समान नेपाल र नाइजेरियाबीच अनुभव आदानप्रदानबाट एकापसमा लाभ लिन सकिने उहाँको विश्वास छ ।
प्रत्युत्तरमा राजदूतले पर्यटन क्षेत्रमा हुने साझेदारीले जनस्तरको सम्बन्धलाईसमेत प्रगाढ बनाउने धारणा राख्नुभएको थियो ।
नेपालका विभिन्न फुटबल क्लबमा नाइजेरियाली खेलाडीहरु रहेको सन्दर्भ पनि भेटवार्तामा उठेको थियो । यसले दुई देशको सम्बन्ध र पर्यटन विकासका सहयोग गरेकोमा दुवै पक्ष सहमत देखिएका हुन् ।
भेटमा मन्त्रालयका सचिव महेश्वर न्यौपाने र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो । भारतको राजधानी नयाँ दिल्लीमा आवासीय राजदूत सु नेपाल, बंगलादेश र श्रीलंकाका लागि गैरआवासीय राजदूत हुनुहुन्छ ।
टिप्पणीहरू