काठमाडौँपछि पोखराका निजी शौचालय पनि निःशुल्क

काठमाडौँपछि पोखराका निजी शौचालय पनि निःशुल्क

पोखरा महानगरपालिकाले पनि निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने तयारी थालेको छ । शहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई असहज भइरहेका बेला महानगरले निजी शौचालय निःशुल्क गर्न लागेको हो ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिने इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्र महानगरमा निवेदन दिन आग्रह गरेको छ । पोखराले शौचालय निर्माण गर्न उपयुक्त स्थानमा जग्गा प्राप्त नहुँदा सर्वसाधारणलाई असहजता भएको भन्दै उक्त आग्रह गरेको हो ।

शौचालयलाई सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिने त्यस्ता व्यक्ति र संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने महानगरले जनाएको छ ।

शहरका व्यस्त सडकमा रहेका व्यक्तिका निजी घर, संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिन इच्छुकहरूसँग सूचना दिन आग्रह गरिएको महानगरले बताएको छ ।

‘महानगरले शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ति वा संस्थालाई साउन मसान्तसम्म निवेदन दिन भनेको छ, त्यस्ता शौचालयमा आवश्यक पर्ने सफाइ एवम् स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउने छ,’ महानगरको सूचनामा उल्लेख छ ।

सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि विशेष पहिचानयुक्त लोगोे वा संकेत राख्ने कार्यपालिका बैठकबाट निर्णय गरेको छ । शौचालय प्रयोग गर्न दिने व्यक्ति, संस्था वा कम्पनीको विवरण महानगरको वेबसाइटमा राखिने सूचनामा भनिएको छ ।

टिप्पणीहरू