गभर्नर बर्खास्तीको माग गर्दै थप आन्दोलनको घोषणा
एमालेको आर्थिक विभागको सदस्यमा नाम समावेश भएपछि विवादमा तानिएका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै आन्दोलनमा होमिएका सत्ता गठबन्धन दलका विद्यार्थी संगठनहरुले संघर्षका थप कार्यक्रम घोषणा गरेका छन् ।
नेविसंघका अध्यक्ष डुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै आज पाँच दिने संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर गभर्नर अधिकारी मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको आरोप लगाएका छन् । सेयर कारोबार, क्रिप्टो करेन्सीजस्ता विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पर्न सक्रिय रहेको उनीहरुको आरोप छ ।
घोषित कार्यक्रमअन्तर्गत आज गभर्नरको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाउने, भोलि बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयसहित देशभरका कार्यालयमा कालो ब्यानर राख्ने, पर्सि प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन गर्ने रहेको छ ।
त्यसैगरी पर्सि देशभरका क्याम्पसमा विरोध प्रदर्शन र शुक्रबार गभर्नर बर्खास्तीको माग गर्दै सांसदहरुलाई दबाब दिन सडकबाट सन्देश पठाउने कार्यक्रम रहेको जनाइएको छ ।
टिप्पणीहरू