थप पाँच जनाले विप्लवको साथ छाडे
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्लास्तरीय पाँच नेता तथा कार्यकर्ताले सो पार्टी छोडेका छन् । आज वक्तव्य जारी गर्दै विप्लव निकट युवा संगठन सर्लाहीका अध्यक्ष तारा लामासहित बिभिन्न जनवर्गीय संगठनका जिल्ला तहका नेताले सामूहिकरुपमा पार्टी छोडेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरुमा लामासहित अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सर्लाही सचिव अमरबहादुर सञ्जाल ‘विष्णु’, अखिल नेपाल भूमिहीन सुकुम्वासी संघ जिल्ला सदस्य,मीनबहदुर आले,मिश्रीमाया तामाङ र दलमाया किङरिङ्ग छन् ।
उनीहरुले विप्लव नेतृत्वको टोली सुधारवादको ओरालो यात्रामा लागेको र एकीकृत जनक्रान्तिको कार्यदिशालाई मागी खाने भाँडो बनाएको आरोप लगाएका छन् ।
विप्लव समूहमा नेताहरुले निजी वैभव आर्जन गर्दै जाने अनि कार्यकर्ता अन्यौल र अकर्मन्यतामा फस्दै तीब्र पलायन हुने क्रम बढिरहेको समेत उनीहरुले बताएका छन् । उक्त समूह छोडेका उनीहरुले त्यहीँबाट छुट्टिएर गठन भएको धर्मेन्द्र बाँस्तोला कन्चन नेतृत्वको नेकपा (बहुमत)मा समाहित हुने घोषणासमेत गरेका छन् ।
‘एकीकृत जनक्रान्तिको कार्यदिशा एउटा अमूर्त भाष्य बन्न गएको छ । जसलाई जतिबेला जे मन लाग्छ त्यो गर्नु नै एकीकृत जनक्रान्ति हो भन्ने भैरहेको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘त्यतिमात्र नभएर यो अमूर्त र रहस्यमय कार्यदिशा बन्न गएको छ । यो स्थितिमा यसैको रटान गरिरहनु शहीद तथा बन्दी कमरेडहरुप्रतिको धोका त हुँदै हो, आफू स्वयम् जनता र क्रान्तिलाई पनि धोका दिनु भएकाले आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेर नेकपा (बहुमत)मा आवद्ध भएको घोषणा गर्दछौँ ।’
टिप्पणीहरू