कोमल वली दिनदिनै बालकोट धाउन थालेपछि एमाले नेताहरु भरङ्ग

कोमल वली दिनदिनै बालकोट धाउन थालेपछि एमाले नेताहरु भरङ्ग

आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्लाबाट टिकटको निम्ति काठमाडौं आएका कतिपय नेताहरू शक्ति केन्द्र धाइरहेका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास टिकेट खोज्नेहरुले भरिभराउ हुन थालेको छ । एमाले स्रोतका अनुसार टिकटका लागि लबिङ गर्न बालकोट जानेहरूको लर्कोमा दाङ्गकी लोकगायिका तथा राष्ट्रिय सभाबाट भर्खर बिदा पाएकी कोमल वली पनि सामेल छिन् ।

दशौं महाधिवेशन यता ओली निवास बालकोटपछि महासचिव शंकर पोखरेलको निवास कोटेश्वरमा पनि आकाँ क्षीहरु पुग्ने गरेका छन् । अध्यक्ष ओलीलाई भेट्न केन्द्रीय सदस्यसहित जिल्लाबाट नयाँ कार्यकर्ताहरू आइरहेको सचिवालयका एक सदस्यले जानकारी दिए ।

‘वली सकेसम्म अध्यक्षलाई मात्रै भेट्छिन्,नमस्कार गर्छिन्,गफिन खोज्छिन् । बेलामौकामा जिल्ला जान्छिन् । उनी नै गाउँ–ठाउँका हर–खबरको रिपोर्टिङ गर्छिन् । कहिलेकाहीँ ज्यादै भीडभाड हुँदा चिया पिएर घर फर्किन्छिन्,’ वलीलाई धेरै पटक बालकोटमा देखेका एक जना एमाले नेताले बताए ।

उपत्यका नछाड्ने वली दाङबाट आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि तीव्र आकांक्षी मानिन्छिन् । उनी टिकट माग्दै ओली निवास बालकोट धाइरहेको अनुमान गरिएको छ ।

पछिल्लो समय सबैभन्दा बढी ‘बा’ भेट्न बालकोट जानेमध्येमा उनी नै शीर्ष स्थानमा पर्छिन् । राप्रपा छाडेर एमाले प्रवेश गरेलगत्तै राष्ट्रियसभा सदस्य बनेकी उनी सौराहा महाधिवेशनबाट एकैचोटी केन्द्रीय सदस्यमा मनोनीत भएकी हुन् ।

‘कोमल दिदीलाई दंगाली जनताले पत्याउँदैनन् । उहाँ फेरि अवसर खोज्दै हिँड्नु हुँदैन ! क्षेत्र नम्बर ३ का मतदाताले युवराज ज्ञवाली वा घनश्याम पाण्डेलाई खोजेका छन् । पार्टी फेर्दै हिँड्नेलाई महासचिव शंकर कमरेडले पनि धेरै बोक्नु हुँदैन,’ एमाले तुलसीपुरका एक पदाधिकारी भन्छन् ।

वली दाङ–३ बाट प्रतिनिधिसभाका लागि टिकट माग्दै एमाले शीर्ष नेताहरूको घरदैलोमा दौडिरहँदा स्थानीय वास्तविकता अर्कै छ । उता केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरका पूर्वमेयर घनश्याम पाण्डे सो क्षेत्रमा सबैभन्दा बलिया दाबेदार मानिएका छन् । करोडौं खर्चेर चुनाव लड्न सक्दिन भन्ने उपाध्यक्ष युवराज ज्ञवालीको पनि उत्तिकै चर्चा छ ।

वली महासचिव पोखरेल हुँदै प्रायः एकाबिहानै ओलीनिवास पुग्ने र ढुक्कै ४-५ घण्टा बिताउने गरेपछि वरिष्ठ नेताहरु नै अचम्भित भएको बताइन्छ । पार्टीभित्रका कतिपय केन्द्रीय सदस्यको अवसरवादी शैली देखेर अध्यक्ष ओलीको सचिवालयका सहयोगीसमेत दिक्क हुन थालेका छन् ।

संकटका बेला पार्टीलाई मरिमेटेर सहयोग गर्नेहरूलाई अनेकौं कमिटी र विभागको सदस्य बन्नबाट वञ्चित गराइएको भन्दै प्रेस चौतारीकै पदाधिकारीहरुले खिसीट्युरी गरेका छन् ।

‘गुट फेर्दै हिँड्ने अवसरवादीहरू मन्त्री, सांसद,विभागीय प्रमुख–उपप्रमुख बने । ती नेतालाई गाली गर्दै हिँड्नेहरू नै नेताका प्रिय पात्र बने । तर संकटको समयमा पार्टी कमिटी जोगाउनेहरू उनीहरूबाटै पीडित छन्,’ उनै पदाधिकारीले भने ।

टिप्पणीहरू