नयाँ कार्यक्रम घोषणाको तयारीमा पर्यटन मन्त्री

नयाँ कार्यक्रम घोषणाको तयारीमा पर्यटन मन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न पर्यटन पुनरूत्थान कार्यक्रम घोषणा गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम’ कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग पर्यटन पुनरुउत्थानको निम्ति गर्नुपर्ने सुझाव लिइसकेकाले सो आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले गरेको बताउनुभयो ।

पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र पर्यटन प्रवद्र्धन हुने समेत दाबी गर्नुभयो । पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउने मान्यतामा आफू रहेको उहाँको भनाइ छ ।

पर्यटनमन्त्री श्रेष्ठले अर्थतन्त्रमा आएको कठिनाई तथा भविश्यमा आउने कठिनाइलाई समेत अनुमान गरेर पर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास गरी पर्यटकबाट बढीभन्दा बढी आयआर्जन गर्ने र रोजगारी सिर्जना कसरी गर्ने विषयमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले अब आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको दिगो विकासको आधार स्तम्भको रुपमा विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक रहेको बताउनुभयो ।

नेपालले भारत, चीन, बंगलादेशलगायत छिमेकी मुलुकबाट आउने पर्यटकको प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई सुदृढ बनाउन आवश्यक देखिएको भन्दै मन्त्री श्रेष्ठले सार्क मुलुकहरुबाट गुणस्तरीय पर्यटन आगमन एवम् क्रस बोर्डर पर्यटनका लागि समेत अधिक प्रयास गर्नु आवश्यक रहेको बताउनुभयो ।

टिप्पणीहरू