छात्राको गोप्य अंगबाट स्यानिटरी प्याड खोल्न लगाउने कर्मचारी कारबाहीमा

छात्राको गोप्य अंगबाट स्यानिटरी प्याड खोल्न लगाउने कर्मचारी कारबाहीमा

हेटौँडा क्याम्पसमा आज बिहानदेखि भएको आन्दोलन टुंगिएको छ । हिजो स्नातक दोस्रो वर्षको परीक्षा दिन आएकी दुई छात्रालाई चिट लुकाएको भन्दै भित्री वस्त्र खोल्न लगाई नाङ्गै पारिएको घटनाले क्याम्पस अशान्त बनेको थियो ।

क्याम्पस व्यवस्थापन, प्रशासन, पीडित पक्ष र विद्यार्थी संगठनका प्रतिनिधिहरुको घटनामा संलग्न दुई जना कार्यालय सहयोगीलाई आगामी दिनमा हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत र अन्य कुनै पनि परीक्षामा सहभागी नगराउने सहमति भएको हो । त्यससँगै क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको संयोजकत्वमा एकजना अभिभावक र पाँच जना विद्यार्थी संगठनका नेता सम्मिलित छानबिन समितिले घटनाको अनुसन्धान गरी प्रतिवेदन बुझाउने गरी आन्दोलन टुंगिएको हो ।

त्रिभुवन विश्वविद्यालयका परीक्षाको निम्ति मकवानपुर बहुमुखी क्याम्पसका परीक्षार्थीहरुको निम्ति हेटौँडा क्याम्पसमा परीक्षा केन्द्र तोक्ने गरिएको छ । अन्य क्याम्पसबाट परीक्षा दिन आउनेहरुहरुप्रति प्रतिस्पर्धी क्याम्पसका शिक्षक, कर्मचारी र कार्यालय सहयोगीहरु अनुदार हुने गरेको उदाहरण हिजोको घटनालाई लिन सकिने बताइएको छ ।

चिट लुकाएको आरोपमा हिजो दुई छात्राका भित्री वस्त्र उतारेर महिला कार्यालय सहयोगीहरुले छामछुम गरेका थिए । सो क्रममा महिनावारी भएकी छात्राको प्याड समेत उतार्न लगाइएको थियो । अर्की छात्राबाट भने चिट फेला परेको बताइन्छ ।

गोपनीयता भंग हुने र मानवअधिकार उल्लंघन नै हुने गरी भएको घटनाको चौतर्फी विरोध गर्दै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले हेटौंडा क्याम्पसमा पुगी आन्दोलन गरेर क्याम्पसका झ्यालका सिसाहरु फुटाएका थिए ।

टिप्पणीहरू