प्रहरीमा सुत्ने एकथरि, किन्ने र मोज गर्ने अर्कैथरि

प्रहरीमा सुत्ने एकथरि, किन्ने र मोज गर्ने अर्कैथरि

नेपाल प्रहरीमा एकीकृत खरिद भन्दै महँगा र सँधै प्रयोग हुने सामान हेड क्वार्टरले किनेर युनिटमा दिने निर्णय गरिएको छ । एक सय ६५ युनिटमा रहेका सिपाहीदेखि हाकिमसम्मले प्रयोग गर्ने कतिपय सामान नक्सालबाटै पठाउन थालिएको हो ।

सबैभन्दा रोचक पक्ष भने खरिद प्रहरी हेडक्वार्टरले गरे पनि भुक्तानी सम्बन्धित युनिटले गर्ने व्यवस्था रहेको छ । सामानमा एकरुपता ल्याउने भन्दै गरिएको उक्त व्यवस्था ठूलो परिमाणमा खरिद गर्दा प्राप्त हुने मोटो कमिशनको खेलबाहेक अरु केही नभएको युनिट प्रमुखहरुले बताएका छन् ।

जनआस्थालाई प्राप्त विवरणअनुसार एक सय ६५ युनिटका निम्ति १९ लाख रुपैयाँको बजेटमा जुत्ता नौ लाख ५० हजार र बेडमा राखिने म्याट्रेसवापत नौ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ । बजेट युनिटमा पठाइएको छ, तर सामान खरिद गर्ने जिम्मा केन्द्रले लिएको छ ।

गत आर्थिक वर्षको बजेट सकाउन असार २३ गते ६६ थान म्याट्रेस खरिद गरिएको थियो । जे.एम.बि.डी.इन्टरनेशनलबाट किनिएको उक्त म्याट्रेस प्रतिथान १३ हजार २६९ रुपैयाँका दरले हुन आउने नौ लाख ८९ हजार ६०२ रुपैयाँ कायम गरिएको देखिन्छ । उक्त कार्यको लागि प्रधान कार्यालयको प्रशासन विभाग मातहत आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले असार १५ गते नै बजेट सञ्चालन गर्ने भनी सबै कार्यालयलाई सोबारे लिखित जानकारी गराएको थियो । प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको हस्ताक्षर रहेको उक्त पत्रमा ‘म्याट्रेस खरिद प्रक्रिया अगाडि बढाई कार्य सम्पन्न गर्ने प्रयोजनको लागि’ भनिएको छ ।

त्यसअघि जेठ १९ गते उक्त म्याट्रेस खरिदको निम्ति लागत अनुमान तयार पारिएको देखिन्छ । उक्त अनुमानमा प्रहरीले आफैँंले पहिले खरिद गरेको बखतको दर,सेना र सशस्त्र प्रहरी बलले खरिद गर्ने गरेको रकमसँग तुलना गर्दै १४ हजार ९९२ रुपैयाँ ६२ पैसा कायम गरेको छ । पछि बोलपत्रअनुसार भन्दै जे.एम.बि.डी. इन्टरनेशनलले कबोल गरेको रकम १३ हजार २७४ रुपैयाँलाई छनौट गर्न उपयुक्त देखाइएको छ ।

अझ उक्त सप्लायर्सले पेश गरेको बीलमा कबोल गरेकोभन्दा पाँच रुपैयाँ घटाएर बील बनाउनुको उद्देश्य खर्चमा मितव्ययिता अपनाएको भन्ने पार्न खोजिएको देखिन्छ । तर, केन्द्रमा सामान किनेर युनिटले रकम भुक्तानी गर्ने उक्त प्रपञ्चको भित्री मक्सद भने अर्कै रहेको सामान्य व्यक्तिलाई पनि अर्थ लगाउन गाह्रो नपर्ने प्रहरीभित्रै चर्चा थालिएको छ । यसमा बिचौलिया राजमान मिश्रको बाहिरी सम्लग्नता देखिन्छ ।

टिप्पणीहरू