रक्सी बेच्ने र सेवन गर्ने दुवैलाई ढुंगा बोकाउने गाउँपालिकाको निर्णय
डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ७ ले मदिरा बेचबिखन र सेवन गर्ने दुवैलाई कारवाहीस्वरुप ढुंगा बोकाउने निर्णय गरेको छ । मदिरा बिक्रीवितरण तथा सेवन रोक्न वडा कार्यालयले यस्तो निर्णय गरेको हो ।
वडाभित्र कसैले मदिरा बेचेको पाइएमा एक महिना र सेवन गरेमा १५ दिन सार्वजनिक स्थलमा ढुंगा बोकाउने वडाध्यक्ष दिलबहादुर बलायरले बताए ।
आर्थिक सजाय गरे पनि कसैले नटेरेपछि यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ । ‘सार्वजनिक स्थलमा ढुंगा बोक्न लाज भएपछि पिउन छाड्ने विश्वासमा उक्त निर्णय गरेको हौं’, उनले भने ।
त्यसैगरी, वडाभित्र जुवातास खेल्न पनि प्रतिबन्ध लगाइएको छ । कसैले जुवातास खेलेको पाइएमा उसलाई कारबाही गरिने कार्यालयले जनाएको छ ।
विद्यार्थीहरु पढाइ छोडेर तासको लतमा परेपछि कार्यालयले तास बेच्नसमेत रोक लगाएको छ । पछिल्लो समय हरेक स्थानीय तहले मदिरा बिक्री र सेवन रोक्न विभिन्न किसिमका निर्णय गर्दै आएको छ ।
टिप्पणीहरू