जनार्दनमाथि थप एक साता छानबिन हुने
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अरु सात दिन समय पाएको छ । १० दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको समितिले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि आज बसेको प्रतिनिधिसभाको बैठकले म्याद थप्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणको अघिल्लो रात जेठ १४ गते अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गराएको शर्मामाथि आरोप लागेपछि छानबिनका लागि समिति गठन भएको हो । समितिले काम थालेको आज १० दिन पुगेको छ । समितिले निवर्तमान अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका कर्मचारी, यससम्बन्धी समाचार उजागर गर्ने पत्रकारलगायत यसमा सम्बन्धित पक्षसँग बयान लिइसकेको छ ।
तर, अहिलेसम्म आरोप पुष्टी हुने कुनै तथ्य र प्रमाण फेला नपरेपछि थप छलफलका लागि समय मागिएकोमा सभामुख अग्निप्रसाद सापकोटाले आज म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो । उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेसँगै समितिले अरु एक हप्ता यसबारे खोजबिन गर्नेछ ।
टिप्पणीहरू