कांग्रेसकै कारण कम्युनिष्टहरु मिल्न लागेको रामचन्द्रको चिन्ता
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र गठबन्धन बिरोधी नेताहरुका कारण वामपन्थीहरु एकजुट हुने परिस्थिति बनिरहेको दाबी गर्नुभएको छ । उहाँले काँग्रेसलाई एक्लो पारेर कम्युनिष्टहरुले महागठबन्धन गर्न लागेको खुलासासमेत गर्नुभयो ।
कांग्रेसको भातृ सङ्गठन प्रेस युनियन नेपालको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन हेटौँडा पुग्नुभएका नेता पौडेलले आफ्नै कारण काँग्रेस एक्लिने स्थिति बनिरहेको भन्दै चिन्ता जनाउनु भयो ।
सत्ता गठबन्धनका प्रमुख दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र कम्युनिष्ट एकताको बहस चलिरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय शक्ति पनि काँग्रेसलाई एक्लो पारेर महागठबन्धन गर्ने कोसिसमा रहेको बताउनुभयो ।
गठबन्धनको विरोध गर्ने शेखर कोइराला समूहप्रति इङ्गित गर्दै पौडेलले बिपी कोइरालाको सहमति, सहकार्य र एकताको बाटो अहिले काँग्रेसले लिएको पनि उल्लेख गर्नुभयो । गठबन्धन चुनावसम्म लैजानु पर्नेमा जोड दिनुभएका उहाँले त्यसले मात्र राष्ट्रियता र प्रजातन्त्रको रक्षा गर्ने जिकिर गर्नुभयो ।
टिप्पणीहरू