इच्छाराजद्वारा कागजमा डिभोर्स दिइएकी श्रीमती मध्यराती जेल चलान

इच्छाराजद्वारा कागजमा डिभोर्स दिइएकी श्रीमती मध्यराती जेल चलान

सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा बैंकर एवम घरजग्गा व्यवसायी इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङलाई हिजो जेल चलान गरिएको छ । उक्त सहकारीको लेखा समिति सदस्य रहेकी उनलाई काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपछि जेल पठाइएको हो ।

हिजो दिउँसो लामो समयसम्म भएको बहसपछि आदेश बेलुकी ९ बजे आएको थियो । १३ नम्बर इजलासका न्यायाधीश कृपासुर कार्कीकाे आदेशपछि उनलाई पुर्पक्षको निम्ति जेल चलान गरिएको हो । उनै तामाङ परिवारको सुन्धारास्थित सिटिसि मलसँगै भद्रगोल जेलको महिला सेलमा पुर्याउँदा राति १० बजेको थियो ।

तामाङले सिभिल सहकारीबाट बिना धितो लगेको अर्बौंको सम्पत्ति लुकाउन २०७४ सालमा श्रीमती सिर्जना शाक्य तामाङ र दुई छोरीलाई अंशबण्डा गरिदिएका थिए । शाक्यलाई प्रहरीले गत मंगलबार दिउँसो रामशाहपथबाट पक्रेर दिउँसो जिल्ला अदालतमा पेश गरेको थियो । उनलाई काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ गते पक्राउ पुर्जी जारी भएको थियो ।

त्यसपछि फरार शाक्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले पक्रेको हो । श्रीमान् तामाङ,श्रीमती शाक्यलगायतको मिलेमतोमा झण्डै छ अर्ब ठगी गरिएको खुल्न आएको छ । उनीहरुले १५ सय बढी वचतकर्तालाई ठगेका छन् ।

गत असोज १७ गते तामाङसहित १२ जना प्रतिवादीलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । इच्छाराज र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि थुनामा छन् । अरु धरौटीमा छुटेका हुन् ।

टिप्पणीहरू