जब झलनाथ बैठकबाट उठ्नुभयो जुरुक्क

जब झलनाथ बैठकबाट उठ्नुभयो जुरुक्क

हाँसीखुशीकै स्थितिमा जब झलनाथ खनाल बैठकबाट जुरुक्क उठ्नुभयो, तब नेताका मनमा अनेकन प्रश्नले घेरा हाले । सोध्ने कोही भएनन् । तर, उहाँ ‘गएँ है’ भनेर हिँड्नुभयो ।

केन्द्रीय परिषद्को बैठकमा उठेका विषयहरूलाई व्यवस्थित हिसाबले दस्तावेजमा समेट्नका लागि गत शनिवार बिहानदेखि साँझसम्मै बस्ने गरी नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक थियो । यो दृश्य त्यही बैठकको हो । शुरुमा कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठान या अन्त होटलमा आवासीय बैठक नै बस्ने सल्लाह थियो ।

तर, कोही नेताको के, कोही नेताको के कुरा नमिल्दा बैठक काठमाडौंमै बस्ने भयो । विहान १० बजेदेखि साँझ ६ बजेसम्म निरन्तर बसेर सबै कुरा टुंग्याउने भनिएको थियो । तर, दिउँसो ३ बजे नै झलनाथ जुरुक्क उठिदिनुभयो र बैठक स्थगित भयो । यसरी झलनाथले बीचैमा बैठक छाड्नुको कारण रहेछ, चिनियाँहरूसँगको भेटघाट ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग काठमाडौं आएको ६ जनाको टोलीमध्ये दुईजना मात्रै फर्किएका हुन्, बाँकी चारजना यतै छन् । उहाँले उनीहरूसँगै भेट्ने कुरा खुलाएर त भन्नुभएन । तर, सबै नेताको अनुमानचाहिँ त्यही थियो । तर, उहाँले डल्लुमा भेट्नुभयो नयाँ आएका दूतावासका सैनिक अधिकृतहरूलाई ।

बैठकमा लामो समयदेखिका सैद्धान्तिक, राजनीतिक र वैचारिक कुरामा बहस गरेर एउटै आकारमा देखिने गरी जाऔँ भन्ने प्रस्ताव थियो । अहिले अर्थ व्यवस्थामा देखिएका संकटमा हाम्रो भूमिका के हुन सक्छ ? पार्टीको नामै समाजवादी भएपछि समाजवादी अर्थ व्यवस्थालाई शीरमा राखेर हिँड्ने कार्यक्रम के हुन्छ ? केन्द्रीय परिषद्को बैठकमा सबै (१० वटै) समूहगत छलफलबाट प्राप्त निश्कर्षमा एउटा साझा प्रश्न थियो, ‘हामीले भन्ने गरेको समाजवाद कस्तो समाजवाद हो ? त्यसको मोडल दिनुप¥यो ।’

बैठक यही विषयमा केन्द्रित थियो । तर, झलनाथ हिँड्नुभएपछि नेताहरू अनौपचारिक रुपमा चीनको नयाँ भूमिकाबारे चर्चा गर्दै बसे । फेरि पनि चिनियाँले नेपालमा एनजिओहरूमार्फत लगानी गर्न खोजेका छन् भन्ने एकजना नेताले उठाए ।

यसअघि सन् २०१४ मा पम्फा भुसाल, राहुल महरा (कृष्णबहादुरका छोरा), सुजाता कोइराला, राष्ट्रपतिका पिए भेषराज अधिकारीलाई ५०–५० हजार डलर दिएर विभिन्न परियोजना अगाडि बढाइएको थियो । कसैले मदन भण्डारी ई–लाइब्रेरी, कसैले ग्रामीण शैक्षिक कार्यक्रम, तराईमा ट्युबेल बाँड्नेजस्ता काम गरे ।

अहिले आएको लिउको टोलीले प्रचारप्रसारसहित पार्टीका शीर्ष नेतासँग भेटेपछि गुपचुप युवा पंक्तिसँग पनि छलफल गरेको छ । जस्तो कि, एमालेको काठमाडौं २ का सांसद कृष्ण राईसहित माओवादीका उमेश स्थापितहरूसँगको भेट पनि पम्फाले स्कुलको परियोजनातिर उनीहरूको ध्यानाकृष्ट गरेकी थिइन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटमा चिनियाँले चुनाव र आगामी सरकारप्रति कुनै सरोकार राखेनन् । एक नेताका अनुसार, उनीहरूले पहिला–पहिला जसरी सन्तुलित शैलीमा कुरा गर्थे, त्यही ढंगको कुरा राखे ।

टिप्पणीहरू