श्रमजीवी पत्रकार आन्दोलन र दुई खराब चरित्र

श्रमजीवी पत्रकार आन्दोलन र दुई खराब चरित्र

वि.सं. २०७९ साल असार २९ गतेको दिन पत्रकार जन्मदेव जैसीले फोन गरे । श्रमजीवी पत्रकार संघ, नेपालको तीनकुनेस्थित कार्यालयमा भेट गर्न रहेछ । उनी संघको अध्यक्ष । उनले सबैलाई बोलाएको छु, तपाईँ पनि आउनु है पुरानो मित्र भने । उनले प्रकाश साप्ताहिकमा काम गर्दादेखि नै चिन्दछु । वर्ग मिल्ने हितैषी पनि हुन् । हामीले पत्रकार महासंघ काठमाडौँ शाखामा हुँदा पेशागत आन्दोलन, श्रमजीवी पत्रकारको हितमा खुलेर लडेको हो । म काठमाडौँको सहसचिव हुँदा सदस्य थिए उनी । हामीले श्रम साप्ताहिक र सात अंक मात्र निस्केको दृश्य नेपाल पाक्षिकमा केही समय सँगसँगै काम गरेका थियौँ ।

हिजोआज यस्ता कार्यक्रममा जान खासै जोश, जाँगर त चल्दैन । तैपनि उनले बोलाएकाले जाऊँँ जाऊँ झैँ लाग्यो । अर्काेतिर प्रेस काउन्सिल नेपालका अध्यक्ष र मुख्य अधिकृत सिन्धुलीतिर गएकाले केही दिनका लागि म निमित्त प्रमुख थिएँ । ३० गते संघको कार्यालयमा गएँ । भित्र छिरेपछि थाहा भयो, त्यो दिन श्रमजीवी पत्रकार संघ, नेपालको प्रथम स्थापना दिवस रहेछ ।

यो संस्था २०३७ सालमा तत्कालीन श्रमजीवी पत्रकार गोपाल बुढाथोकीहरूले चलाउन खोजेका रहेछन् । त्यसलाई निरन्तरता दिन नसकेपछि त्यत्तिकै बेवारिसे भएको रहेछ । त्यसैलाई जन्मदेवको टिमले जगाएको र कानुनी जन्म भएको एक वर्ष मात्रै भएको रहेछ । त्यही उपलक्ष्यमा केक काट्ने व्यवस्था पनि रहेछ । केक काट्ने प्रचलन अब हाम्रो पनि संस्कार भइसक्यो । प्रधानमन्त्री निवासमै केक काट्ने प्रथा बसेपछि झन् यो गाउँगाउँ, घरघरमा त पुग्ने नै भयो ।

जन्मदेवले ५, १० मीनेटमा चिया खाएर फर्किहाल्ने हो भनेका थिए तर कार्यक्रमको तयारी अनौपचारिक भए पनि औपचारिकजस्तै भयो । सबैले थोरै थोरै समय भाषणभुषण गर्दा एकघण्टा पर नै तन्कियो । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्कादेखि पत्रकार मनऋषि धिताल, प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेदेखि प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, प्रेस युनियनका ईश्वरी ओझादेखि अशोक सुवेदी, नेता शान्तराम बिडारीसम्मको मुखारविन्दबाट उस्तै कुरा आए ।

बस्दाबस्दै मलाई आफ्नै पुराना दिनको स्मरण भयो । ज्वाला, योजना, जनआह्वान, जनादेशमा सुक्को नपाए पनि लेखेको, समाचार सम्प्रेषण गरेको ०५३, ०५४ तिरै हो । मूल्यांकन, नवयुवा मासिक, जन्मभूमि, विश्वदीप साप्ताहिकमा काम गर्दा धेरथोर जति भए पनि द्रव्य पाइने भएकाले त्यो सकारात्मक पक्ष दिमागको कुनामा बसेको होला । उल्टै दृश्य नेपालका मूल लगानीकर्तालाई आफैँले सापट खोजेर गाडी भाडा दिनुपर्दाको अवस्था कतिसम्म मार्मिक थियो होला, बुझ्नेलाई इशारा काफी छ । त्यतिबेला त्यो नेपाल पत्रकार महासंघ कहाँ थियो होला, भनेर अहिले भन्न होला र ?

यिनै जन्मदेवजी राजधानी दैनिकमा कार्यरत थिए । उनलाई त्यहाँबाट निकाल्ने भएपछि महासंघका तीनै शाखा ताते । हामी राजधानीको कुपण्डोलस्थित कार्यालयमा केन्द्रको महासंघ प्रतिनिधिसहित गयौँ । व्यवस्थापनसँग राम्ररी कुरा ग¥यौँ तर महासंघ केन्द्रबाट जाने प्रतिनिधिले जिब्रो चपाए । हामीसँगको छलफलमा एउटा कुरा गरे अर्थात् जन्मदेवजीलाई हटाउन हुन्न भने भने व्यवस्थापनसँगको छुट्टै कुरामा कसैलाई हटाउने, राख्ने तपाईँको संस्थाको अधिकारको कुरा हो भने । उनीहरूको यस्तो व्यवहारले हामी आफैँ लाजले पानी पानी भएका थियौँ ।

जन्मदेवजी अध्यक्ष रहेको श्रमजीवी पत्रकार संघ, नेपालको पहिलो कानुनी जन्म दिवसमा केक खाइहँदा मनमा अर्काे एउटा चरित्रको विषय पनि कुलेलम ठोकेर आयो । त्यो हो आस्था वा सिद्धान्तको पत्रकारिताका नाममा गरिने श्रम शोषण । यसको नाममा हुने ब्ल्याकमेलिङ । आस्था, कलम र पैसाबीच कहाँ तुलना गर्न हुन्छ र भन्ने, काम लगाउने तर सुको दाम नदिने । मिडिया चलाउन पैसा हुने, काम गर्ने व्यक्तिलाई सुको नदिने । सुको दिन प¥यो भने हामी त एउटै आस्थाका भन्ने, दिमाग भुट्ने । माक्र्स, लेनिन, माओ, गान्धीले त कहिल्यै पैसाका लागि लेख्नुभएन भनेर बाहिर बाहिर आदर्श छाँट्ने अनि मिडियामा देखिएको मूल जनवादी वा प्रजातान्त्रिक मालिकले चाहिँ भित्रभित्रै आफ्नो मेसो चलाउने । आफ्नो चुल्हो बाल्ने, आफूजस्तै काम गर्नेको जेसुकै होस् ।

जन्मदेवजीको कार्यक्रममा केक काट्नु र खानुअघिसम्म यिनै दुई विचार गाढासँग आइरहे । बोल्ने क्रममा पनि मैले यही भनेँ । नेपाली पत्रकारिताको इतिहास धेरै पुरानो छैन तर पनि श्रमजीवी पत्रकारको अवस्था जति पुरानो वा छोटो भए पनि उस्तै छ । श्रमजीवी ऐन (०५१) बनेको यतिका वर्ष भइसक्दा पनि वास्तविक पत्रकारका समस्या ज्यूँका त्युँ छन् । हेप्नेले पत्रकारलाई हेप्न छाडेको छैन, आफ्नै चरित्रगत कमजोरीका कारण कतिपय पत्रकार आफैँ हेपिएका पनि छन् । यसको मूल कारण यिनै दुइटा चरित्र हुन्  :

 एउटा आस्थागत पत्रकारिताभित्र भइरहने श्रम शोषणका विरुद्ध चुँ गरेर बोल्न नसक्ने, तल परिएला कि, नेतृत्वका दाइहरूले कू गर्लान् कि भनेर डराउने वा फिअर अफ आइसोलेसनमा परेर बस्ने, अर्काे कालो धनलाई सेतो बनाउन मिडियामा लगानी गरेका मालिकका विरुद्ध भएका आन्दोलनमा पत्रकार महासंघजस्ता सरोकारवाला संस्था र तिनका मठाधिसले नै आफ्नो स्वार्थलाई हेरेर चोचोमोचो मिलाउने । हो, मैले यही भनेँ, जन्मदेवको संघले यी दुई चरित्रका विरुद्ध लड्न सकेन भने यो संघका यस्ता बर्थडे धेरै वर्षसम्म मनाउन सकिने छैन ।

जहाँ भए पनि श्रमजीवी पत्रकारका हितका पक्षमा बोलिँदै लेखिँदै आएकै छ । प्रेस काउन्सिल नेपालभित्रै पनि यसका पक्षमा आवाज उठेको छ । यो मूल कार्यभार नभए पनि काउन्सिलको उद्देश्यमा नै उल्लिखित प्रेस स्वतन्त्रता संरक्षणको विषयलाई लिएर यसको पक्षमा काम गर्दै आइएको हो । किनकि प्रेस स्वतन्त्रता भन्नासाथ श्रमजीवी पत्रकार र समाचार माध्यमको संरक्षण र सुरक्षाको कुरा आउँछ । त्यही भएर काउन्सिलमा रहेको श्रमजीवी हित तथा कानुन उपसमितिले बेलाबखत श्रमजीवी पत्रकारको विषयमा बोलेर, स्थलगत अध्ययन गरेर धारणा सार्वजनिक गर्दै आएको छ ।

श्रमजीवी पत्रकारको आन्दोलनका पक्षमा केही न केही दबाब सिर्जना होस् भनेर होस्टेमा हैंसे गर्दै आएको छ । हुन त पत्रकारिता कमाउनेभन्दा रमाउने पेशा हो । त्यसैले यो पेशामा घरघडेरी जोड्ने तलब नै चाहिन्छ भन्न गाह्रो छ । तर पनि पारिश्रमिक नै नदिई काम लगाउने र लगाए पनि नदिने फिल्डको व्यवहारले पत्रकारितामा क्षमतावान र गुणवान श्रमजीवी पत्रकारको अभाव हुँदै गएको छ । भएका पनि पलायन हुने क्रम बढेको छ । कोरोना महामारी (कोभिड ९) ले यसमा घिउ थप्ने काम गरेको छ ।

यस्तो अवस्थामा श्रमजीवी पत्रकारको मुद्दालाई गम्भीर बनेर नउठाउने हो भने सही पत्रकारको अभाव हुँदै जानेछ । यस आन्दोलनलाई उठाउँदा भने स्वरोजगारमूलक पत्रकारिता गर्ने, कर्पाेरेट पत्रकारिता गर्ने र पार्टी पत्रकारिता गर्ने पत्रकार छुट्याएर हेर्नुपर्दछ । कसैले स्वरोजगारमूलक पत्रकारिता गरेको छ भने उसले राख्ने पत्रकार र पार्ट टाइम काम गरेर दिने पारिश्रमिकलाई त्यही रुपमा हेर्नुपर्दछ । खास श्रमजीवी वा कलमजीवी भनेका कर्पाेरेट हाउसमा काम गर्ने पत्रकार नै हुन् । यिनका विषय मिडिया सञ्चालित भएपछि मात्र हैन, मिडिया सञ्चालनअघि नै पत्रकारको सेवा, सुविधा र तलबका लागि निश्चित रकम धरौटी राख्ने व्यवस्था गरिनुपर्दछ ।

सरोकारवालाको ध्यान यतातिर जानुपर्दछ । पत्रकारिताको आवरणमा पार्टी राजनीति गरेका पत्रकारको विषय फरक हो । उनीहरू नै आन्दोलनमा आए वा सरोकारवालाकोमा धाए फरक कुरा नत्र यिनकै कारण पनि श्रमजीवी पत्रकारको आन्दोलन फितलो भइरहेको छ । वास्तवमा यी र यस्तै शरमजीवी पत्रकारकै कारण कमजोर भइरहेको हो श्रमजीवी पत्रकारको आन्दोलन, मुद्दा ।

टिप्पणीहरू