सँसदमा चुपचाप बसेको एमालेले नागरिकताका नाममा अब सडक उराल्ने
नागरिकका नाममा प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधिसभाबाट हालै पारित नागरिकता विधेयकविरुद्ध सडक संघर्ष गर्ने भएको छ । विधेयक पास गर्न संसदमा मौन समर्थन गरेको एमाले राष्ट्रवादको नारा लिएर सडकमा ओर्लने निर्णयमा पुगेको हो ।
महासचिव शङ्कर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि सरकारले नागरिकता विधेयक पारित गरेको आरोप लगाउँदै साउन १६ गते विरोध प्रदर्शनको तयारी भैरहेको बताए ।
विगतमा विधेयकलाई रोक्ने काम माओवादी केन्द्रबाटै भएको दावी गर्दै उनले प्रचण्डको भारत भ्रमणलगत्तै विधेयक पारित हुनुले आशंका उब्जिएको बताए । नागरिकता विधेयकले नेपाल र भारतबीचको सम्बन्धमा असन्तुलन पैदा गराउने पोखरेलको भनाइ छ । ‘नेपाली चेलीहरूले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्,त्योभन्दा बढी सुविधा दिने कुरा उचित हुँदैन’, उनले भने ।
नेपालमा नागरिकताको विषयलाई उचालेर दलहरुले भोटको राजनीति गरेका छन् । यसअघि केपी ओली प्रधानमन्त्री हुँदा अहिले पास भएको विधेयककै प्रावधान राखेर अध्यादेश जारी गरिएको थियो । ओलीले आफ्नो सरकार टिकाउन अध्यादेश जारी गरेर महन्थ ठाकुरहरुलाई सरकारमा सामेल गराएको भन्दै चौतर्फी विरोध हुँदा एमालेका नेता-कार्यकर्ता बचाउमा उत्रिएका थिए । पछि अदालतले अध्यादेश खारेज गरेको थियो ।
आफ्नै पालामा अध्यादेश ल्याएको एमालेलाई अहिले सदनमा विरोध गर्न नैतिक संकट परेपछि सडकमा ओर्लिन लागेको कतिपयको टिप्पणी छ ।
टिप्पणीहरू