पर्यटक भित्र्याउन नयाँ कार्ययोजना, विदेशी मुद्रा सटहीदर राखिने विषयसमेत उल्लेख
मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न कार्ययोजना अघि सारेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आज मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।
‘नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना, २०७९’ मा काठमाडौं उपत्यकाका ऐतिहासिक तथा पुरातात्विक सम्पदालाई जोड्नेगरी सम्पदा मार्ग निर्माण गर्ने सन्दर्भ उल्लेख छ । त्यस्तै, पर्यटन नीति २०६५, हवाई नीति २०६३, राष्ट्रिय संस्कृति नीति २०६७, पर्यटन ऐन २०६५, नेपाल पर्यटन बोर्ड ऐन २०५३, प्रतिलिपि अधिकार ऐन २०५९ र पर्वतारोहण नियमावली २०५९ लगायत कानूनको समसामयिक संशोधन अघि बढाइने जानकारी दिइएको छ ।
‘क्लिन नेपालः ग्रीन नेपाल’ को अवधारणाअन्तर्गत प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज एवम् निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीयस्थलमा राष्ट्रिय सरसफाई एवम् रङरोगन गर्ने अभियान सञ्चालन गरिने कार्ययोजनामा अघि सारिएको छ ।
काठमाडौं उपत्यकाभित्र रात्रिकालिन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालिन सम्पदा यात्राको शुरुवात गरिने भनिएको छ ।
त्यस्तै, पर्यटनको नेपाल बसाईलाई थप सुरक्षित बनाउन संकट व्यवस्थापन इकाइ स्थापना गर्ने, सगरमाथा सम्वाद कार्यक्रम सञ्चालन गर्ने, थप हिमचुलीहरुको आरोहण खुला गर्ने, अन्तर प्रादेशिक हवाइ सेवा विस्तार गर्नेलगायत विषयलाई मन्त्रालयको योजनामा समेटिएको छ ।
गैरआवासीय संघको नेतृत्वमा ‘एक नेपाली, एक विदेशी साथी नेपाल पठाउने’ अभियान सञ्चालन गर्न मन्त्रालय र संघबीच सम्झौता गरिने भएको छ ।
निजी क्षेत्रको सहकार्यमा सिटी बस सञ्चालन, विद्युतीय यातायात सेवा, विमानस्थलमा रहेको मनी एक्सचेञ्ज काउन्टरअगाडि सटहीदर देखिने गरी विद्युतीय सूचना बोर्डको स्थापना गरिने पनि कार्ययोजनामा राखिएको छ । जबकी त्यस्तो दर अनिवार्य रुपमा देखिने ठाउँमा राख्नैपर्ने नेपाल राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
नेपाल वायुसेवा निगमका सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने व्यवस्था मिलाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थललाई थप आकर्षण बनाइने, स्तरोन्नति र सेवालाई प्रभावकारी बनाउनेलगायत कार्ययोजना मन्त्रालयले बनाएको हो ।


टिप्पणीहरू