बीमा कार्यक्रममाथि सरकारको अलमल किन ?: सांसद संग्रौला
नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद संग्रौलाले बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको हो ।
स्वास्थ्य बीमा कार्यक्रमवापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नगरेका कारण सरकारी अस्पतालहरुले उक्त कार्यक्रम स्थगित गरिरहेको उहाँले बताउनुभयो । सरकारको अलमलका कारण लोकप्रिय स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमाथि प्रश्न उठेको उहाँको आरोप छ ।
‘स्वास्थ्य बीमा कार्यक्रमवापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुले नै उक्त कार्यक्रम स्थगित गरेको सार्वजनिक सूचनाहरु प्रकाशित भइरहेका छन् । यो अत्यन्त गम्भीर अवस्था हो,’ उहाँले भन्नुभयो, ‘सरकारले नै अलमल गर्दा अहिले यो लोकप्रिय कार्यक्रमको भविष्यमाथि प्रश्न उठ्न थालेको छ ।’
उहाँले कोरोनाको सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारलाई बेलैमा ध्यान पुर्याउन आग्रह गर्नुभएको छ । त्यसको लागि प्रदेश र स्थानीय तहका साथसाथै विभिन्न संघसंस्था र आमनागरिकलाई समेत परिचालन गर्नुपर्नेमा सांसदको जोड छ ।
टिप्पणीहरू