मधेशका मुख्यमन्त्रीको गठबन्धनका नेतालाई ध्यानाकर्षणपत्र

मधेशका मुख्यमन्त्रीको गठबन्धनका नेतालाई ध्यानाकर्षणपत्र

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धनका शीर्ष नेतासमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

पत्र बुझाउन मुख्यमन्त्री राउतसँगै प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादव, गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्मा, महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा पनि पुगेका थिए ।

मन्त्रीहरुले संयुक्त रुपमा मधेश प्रदेशको सरकारी संरचना रहेको मधेश भवन (जनकपुर चुरोट कारखाना) र प्रदेश सभा रहेको स्थललगायतका स्थानमा स्थायी संरचना निर्माणका लागि सिफारिस गरिएका जग्गाहरु प्रदेश सरकारको नाउँमा हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।

साथै, स्थायी भौतिक संरचनाका लागिसमेत चाहिने आर्थिक स्रोत व्यवस्थापन गर्न माग गरेका छन् ।

संवैधानिक तथा कानूनी व्यवस्थाको आधारमा आगामी निर्वाचन अगावै प्रहरी समायोजन गरी हस्तान्तरण गर्न तथा जिल्ला प्रशासनलाई प्रदेश सरकार मातहत ल्याउन आवश्यक निर्णय तथा निर्देशन दिई पहल गरिदिन ध्यानाकर्षणपत्र मार्फत अनुरोध गरिएको छ ।

नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको एकल अधिकार सूचीभित्र रहेकोमा पनि ध्यानाकर्षण गराइएको छ ।

त्यसैगरी, टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका सत्ता साझेदारमा रहेका शीर्ष नेतालाई भेटेर आफ्ना माग पूराको निम्ति पहल गरिदिन आग्रह गरेका छन् ।

टिप्पणीहरू