फाष्टट्रयाक आयोजनाको कार्यतालिका बनाउन विकास समितिको निर्देशन
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई र मधेश दु्रतमार्ग आयोजनाको आर्थिक वर्ष ०७९–८० को कार्यतालिका बनाउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले आयोजनाको लागत बढ्न नदिई निर्धारित समयमा गुणस्तरीय कार्य सम्पन्न गर्ने विश्वसनीय आधारसहितको कार्यतालिका तत्काल बनाउन सरकार र दुतमार्ग आयोजनालाई निर्देशन दिएको हो ।
बैठकले उक्त कार्यतालिका यथाशीघ्र समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रक्षा मन्त्रालय र दु्रतमार्ग आयोजनालाई निर्देशन दिएको छ ।
आर्थिक वर्ष २०७८–०७९ सम्ममा दु्रतमार्गको २१ दशमलब १८ प्रतिशत मात्र काम भएको छ । त्योसँगै आयोजनाको पूर्वनिर्धारित कार्यतालिकाबमोजिम हालसम्म ठेक्का व्यवस्थापनका कार्यहरु हुन नसकेको भन्दै समितिले आयोजना निर्धारित समयमा सम्पन्न हुने कुरामा विश्वस्त हुन नसकेको अर्थ लगाएको हो ।
समितिले द्रुतमार्ग आयोजनामा वातावरणीय पक्षहरुको वर्तमान अवस्था र तेस्रो पक्षबाट हुने अनुगमनको पक्ष के र कसरी कार्यान्वयन भएको छ भन्ने विषयमा १५ दिनभित्र स्पष्ट जानकारी दिन पनि निर्देश दिएको छ ।
टिप्पणीहरू