सभामुख सापकोटाले भन्नुभयो ‘म आफैँलाई अचम्म लागेको छ’
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाल जस्तो मुलुकमा हरेक वस्तु आयात गरेर जीवन निर्वाह गर्नुपर्ने अवस्था दुःखद रहेको बताउनु भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपालीले खरानी समेत आयात गरेको सुन्दा आफूलाई अचम्म लागेको उल्लेख गर्नुभयो ।
‘नेपाल जस्तो देश जहाँ असाध्यै ठूलो मात्रामा सागपात उत्पादन हुन्छ, तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं । जनै लगाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । योभन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?’ उहाँको प्रश्न छ । नेपालजस्तो उर्वर भूमिमा दुई खर्ब ५० करोड रुपैयाँ बराबरको खाद्यवस्तु आयात हुनु दुःखद भएको उहाँको भनाइ छ ।
राजनीतिक दलका नेता तथा सरकारी अधिकारीहरुले वस्तु र सेवा आयाततर्फ चिन्ता व्यक्त गरे पनि त्यस्तो अवस्था किन र कसरी आयो भन्ने सम्बन्धमा खासै छलफल र विज्ञहरुसँग परामर्श गरेको देखिँदैन । कृषि उत्पादन बढाउन किसानलाई दिइनुपर्र्ने सहुलियत, बीऊ र मलको सँधै अभाव हुने गरेको छ । यसतर्फ कुुनै पनि सरकारले खासै चासो दिएको पाईंदैन ।
अर्को एक प्रसङ्गमा सभामुख सापकोटाले युवाहरूको मनोभावना बुझ्न जरुरी रहेको उल्लेख गर्दै भन्नुभयो, ‘काठमाडौँ र धरानबाट युवाको आवाज बुलन्द हुन थालेको छ । अहिले त छिटपुट सङ्केतहरू मात्रै देखा परेका छन्, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ ।’
टिप्पणीहरू