हिजो बिहे गरे पनि अहिले अविवाहित नै रहेको प्रमाणपत्र दिन थाले अध्यक्षले
गुल्मीको सत्यवती गाउँपालिका ८ नम्बर वडा कार्यालयले अचम्मको विषय प्रमाणित गरिदिएको छ । गाउँपालिकाको भार्सेस्थित वडा कार्यालयको लेटरप्याडमा अध्यक्ष होमबहादुर रानाले स्थानीय विवाहित महिलालाई अविवाहित प्रमाणित गरिदिएका हुन् ।
सोही वडा निवासी हिरालाल छन्तेलको छोरी गौमाया आलेलाई रानाले अविवाहित प्रमाणित गरिदिएको पत्र भेटिएको छ । अचम्म त के भने गौमाया रामबहादुर आलेको श्रीमती भएको ब्यहोरा पनि सोही पत्रमा उल्लेख छ । आलेपछि अर्को कसैसँग विवाह नभएकाले अविवाहित प्रमाणित गरिदिएको अध्यक्षको दावी छ ।
तर प्रमाणित गरिएको कागजातमा लेखिएको छ, ‘प्रस्तुत विषयमा गुल्मी जिल्ला साविक भार्से गाविस वडा नं. ६ हाल सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्से गुल्मी निवासी हिरालाल छन्तेलको छोरी,रामबहादुर आलेको श्रीमती नागरिकता प्रमाणपत्र नम्बर १६ जारी मिति २०४४/१२/२९, गुल्मीको गौमाया आलेले यस वडा कार्यालयमा दिनु भएको निवेदनअनुसार निज गौमाया आलेको हालसम्म कहिँ कतै पनि पुनः विवाह नभएकाले निज गौमाया आलेलाई अविवाहित हो भनी सिफारिससाथ प्रमाणित गरिन्छ ।’त्यसो त यदाकदा पाइने यस्ता घटनामा बिहे गरेको तर पतिले जिम्मेवारी पूरा नगरेको कारण सरकारी कामकाजका दौरान ब्यवहारिक कठिनाइसमेत देखिएका छन् ।

टिप्पणीहरू