प्लास्टिक झोलाबारे सरकारको पटक पटकको निर्णय र चेतावनी

प्लास्टिक झोलाबारे सरकारको पटक पटकको निर्णय र चेतावनी

सरकारले प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा नियन्त्रण र कडाइ गर्ने भएको छ । ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग गरे कारबाही गर्ने वातावरण विभागले जनाएको हो ।

प्लास्टिक झोलाको प्रयोगले वातावरणमा अत्यन्त प्रतिकूल प्रभाव पारेको उल्लेख गर्दै झोला जथाभावी फ्याँक्नाले ढल तथा पानीका पाइपमा जम्मा भई ढल निकासमा समस्या देखिएको विभागले बताएको छ ।

विभागले एक वर्षअघि पनि प्लास्टिकको झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गर्ने निर्णय गरेको थियो । तर, कोभिड १९ को कारणले अनुगमन फितलो हुँदा फेरि प्लाष्टिक झोला उत्पादन र प्रयोगमा वृद्धि भएको विभागको भनाइ छ ।

विभागले आगामी भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, बिक्री वितरण तथा प्रयोग गर्नेलाई वातावरण संरक्षण नियमावली २०७७ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

सरकारले गत असोज १९ गते राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

यस्तै, माघ १७ गतेको मन्त्रिपरिषद् निर्णयले प्लाष्टिकको झोला प्रतिबन्धसम्बन्धीको नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न कार्ययोजना नै स्वीकृत गरेको थियो । तर, कार्यान्वयन नभएपछि विभागले थप कडाइ गर्ने निर्णय गरेको हो ।

टिप्पणीहरू