कहाँबाट आए ठगबहादुरको क्षेत्रमा महाठगहरु ?

कहाँबाट आए ठगबहादुरको क्षेत्रमा महाठगहरु ?

इलाका प्रहरी कार्यालय, बुटवलका इञ्चार्जसमेत रहेका डिएसपी ठगबहादुर केसी यतिबेला तनावमा देखिएका छन् । कल सेन्टरको नाममा डिएसपी ठगबहादुरलाई समेत छकाउँदै महाठगहरुले कारोबार गरेपछि उनी तीनछक परेका हुन् ।

उनको कार्य क्षेत्रमा पर्ने बुटवल–भैरहवा छ लेन सडक खण्डको जानकीनगर चोकमै कल सेन्टर सन्चालन गरी दैनिक करोडौं रकम ठगेको सूचना बाहिरिएपछि उनी आफैँ चकित भएका हुन् । चोकबाट करिब किलोमिटर दूरीमा रहेको प्रहरी चौकी बेखबर थिएन । उक्त चौकीमा सई कमल भण्डारी इञ्चाज छन् ।

मुख्य राजमार्गको चोकमा रहेको भवनमा तीन तल्लामाथि दैनिक तीनदेखि चार सयको हाराहारीमा २० वर्ष मुनिका किशोर किशोरीहरुको दैनिकजसो हुने भीडभाडको बारेमा डिएसपी केसी पहिलेदेखि नै जानकार थिए । उनले उक्त ठाउँबाट मासिक रुपमा लाभ लिने समेत गरेको आरोप लाग्दै आएको थियो । तर उनलाई तिलोत्तमा नगर परिषद्ले विवादमा पारेपछि उनी त्यो विवादबाट मुक्त हुने उपायको खोजीमा थिए ।

तिलोत्तमा नगरपालिकाले डिएसपी केसीले भीड नियन्त्रणको नाममा वडाध्यक्षलाई पानीमा डुबाउनु गलत भन्दै कारबाहिको लागि सरकारसमक्ष सिफारिस नै गरेको थियो । डिएसपी केसीले निर्वाचित वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई नगरपरिषदको समयमा विरोध गरेको भन्दैं धकेलेर स्वीमिंग पुलमा खसालिदिएको भिडियो भाइरल भएको थियो । त्यसपछि उनको सर्वत्र आलोचना भएको हुन थालेको हो ।

‘पुलिस न साथी, न दुश्मन’ भने झैँ यतिबेला बुटवलमा रहेर चोरी तस्करी गर्नेहरुलाई समेत तनाव भएको छ । अघिल्लो महिनासम्म निकै प्रिय साथीभाइका रुपमा रहेर रेष्टुरेन्टमा ‘चियर्स’ गर्नेहरु पनि हिजोआज टाढिँदा उनी थप तनावमा थिए । पहिले मिलाएर काम गरौं, पैसा पनि कमाउने नाम पनि कमाउने गरी काम गरौं भन्दै मातहतका युनिटलाई आदेश दिने ठगबहादुर तिलोत्तमा २, जानकीनगरमा रहेको सुविधासम्पन्न भवनको तीनवटा फ्ल्याट भाडामा लिएर तीन सयभन्दा बढी कम्प्युटर राखी त्यति नै संख्यामा युवायुवतीसहित काम गर्ने गिरोह प्रहरीको जिल्लाको टिमले पत्ता लगाएपछि उनी बिलखबन्दमा परेका हुन् ।

धेरैले भन्न थालेका छन, ‘ठगबहादुरको क्षेत्रमा महाठगी यो त अनौठो भयो ।’ उनले घुमुवा प्रहरी नै परिचालन गरेर बुटवलका मसाज सेन्टर, कालिकानगरका रात्रिकालीन डिस्को क्लब, पब हाउसहरुबाट नियमित रकम उठाउँदै आएको सबैलाई जानकारी छ । सबैको प्यारो बन्न कोशिस गर्ने ठगबहादुर यतिबेला भने तिलोत्तमा घटनाले तनावमा परेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणको सहोदर भाई तिलोत्तमाका मेयर रामकृष्ण खाँणलाई खुलेर सहयोग गर्ने मनसायले रामकृष्णसँग विवाद चर्काएका सोही नगरका एकजना वडाध्यक्षलाई धकेलेर पानीमा खसालिदिएपछि खाँण पनि ठगबहादुरसँग रुष्ट भएका हुन् । उनले नजिकका मान्छेसँग भन्ने गरेका छन, ‘मलाई त के लिनु वा दिनु थियो र गृहमन्त्रीज्यूको भाइ भनेर सहयोग गर्न खोजेको, वडाध्यक्ष पोखरीमा डुब्यो । उता बचाउलान् भनेको त कारबाही गर्न सिफारिस गरेछन् । नेताहरु सबै यस्तै हुन् ।’

प्रहरीले ब्लु स्काइ नाममा खोलिएको कल सेन्टरबाट रुपन्देही प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो । कल सेन्टरको नाममा सर्वसाधारणलाई ठगेको प्रमाणका आधारमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कर्मचारीको रुपमा उनीहरुले अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्यो भनी ठगी गर्ने, ब्ल्याकमेलिङ गर्ने गरेको आरोपमा कल सेन्टरमा काम गर्ने करिब डेढ सय जना १६ वर्षदेखि २१ वर्ष उमेर समूहका किशोर किशोरीलाई कार्यालयभित्रै निगरानीमा राखेको छ ।

टिप्पणीहरू