लोकप्रिय मतमा पनि काँग्रेस नै पहिलो

लोकप्रिय मतमा पनि काँग्रेस नै पहिलो

स्थानीय तहको पछिल्लो निर्वाचनमा ३२९ पालिकाको नेतृत्व जितेर पहिलो पार्टी बनेको नेपाली काँग्रेस लोकप्रिय मतमा पनि सबैभन्दा अगाडि रहेको औपचारिक रिपोर्ट सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको अन्तिम मतपरिणाममा काँग्रेसले वडाध्यक्षतर्फ एमालेले भन्दा झन्डै डेढ लाख मत बढी पाएको उल्लेख छ ।

२६ सय ६८ वडाअध्यक्ष जितेको काँग्रेसले ३९ लाख ५६ हजार एक सय ९३ मत पाएको छ । काँग्रेसले पाएको यो मत ३४.२८ प्रतिशत हो ।

वडाध्यक्षतर्फ पहिलो भएको दाबी गरिरहेको एमालेले काँग्रेसलेभन्दा १ लाख ४४ हजार ५९१ मत कम ल्याएको छ । जम्मा २१ सय ३७ वडाध्यक्ष जितेको एमालेले ३८ लाख ११ हजार ६०२ मत ल्याएर दोस्रो भएको हो । यो कूल मतको ३३.०३ प्रतिशत हो ।

त्यस्तै, १५ लाख ३ हजार २४७ भोट पाएको माओवादी तेस्रो र पाँच लाख ७७ हजार ३८० मतसहित जनता समाजवादी पार्टी (जसपा) चौथो भएको छ । यी दुवै दलले वडाध्यक्षतर्फ पाएको मतको प्रतिशत क्रमशः १३.३ र ५ प्रतिशत हो ।

एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ भोट पाएको छ । जसअनुसार ३.६६ प्रतिशत भोट ल्याएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० र लोसपाले दुई लाख ४४ हजार ८८२ भोट पाएका छन् ।

टिप्पणीहरू