अचाक्ली शुल्कवृद्धिपछि कलेज तोडफोड, अनिश्चितकालका लागि पढाइ बन्द

अचाक्ली शुल्कवृद्धिपछि कलेज तोडफोड, अनिश्चितकालका लागि पढाइ बन्द

शुल्कवृद्धिको विरोधमा आज काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजमा बिहानैदेखि विद्यार्थीहरु आन्दोलित भएका थिए । शुल्कवृद्धिबाट आक्रोशित विद्यार्थीहरुले कलेजमा तोडफोड समेत गरेका छन् ।

कलेजले पाँच वर्षे बिएएलएलबीको शैक्षिक शुल्क छ लाख रूपैयाँबाट एकै पटक १० लाख ७० हजार पुर्याएपछि विद्यार्थी आन्दोलित बनेका हुन् ।

उक्त घटनाले एलएलएम कार्यक्रमको पहिलो वर्षको नियमित भर्ना प्रक्रिया बिथोलिएकोप्रति कलेजले ध्यानार्षण भएको जनाएको छ । केही विद्यार्थी समूहले अवाच्छित गतिविधि गर्दै भौतिक ताडफोडबाट कलेजको सम्पत्तिमाथि हानी नोक्सानी पुर्याएको घटनाप्रति कलेज प्रशासन दुःखी भएको उल्लेख गरेको छ ।आजै कलेजले अर्को सूचना प्रकाशित नभएसम्म सम्पूर्ण पठनपाठन बन्द हुने जानकारी गराएको छ । सूचनामा भनिएको छ, ‘यो विषम परिस्थितिमा अर्काे सूचना प्रकाशन नभएसम्म नियमित पठनपाठनलगायत प्रशासनिक कार्यहरु स्थगित गरिएको छ । कलेज प्रशासन सँधै प्राज्ञिक मर्यादा कायम गर्न सचेत र प्रतिबद्ध रहेको जानकारी गराइन्छ ।’

त्यस्तै, आन्दोलित नेविसंघ र अखिलका विद्यार्थीहरुले पनि संयुक्तरूपमा विज्ञप्ति जारी गरेका छन् । उनीहरुले गत बिहिबार विज्ञप्तिमार्फत् शुल्कवृद्धि तत्काल फिर्ता लिन ध्यानाकर्षण गराएको तर शुल्क वृद्धिप्रति कलेज सकरात्मक नदेखिएपछि संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको बताएका छन् ।उनीहरुले मागको उचित सम्बोधन नभएकाले कलेजमा तालाबन्दीको घोषणासमेत गरेका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘एलएलबिको शुल्क तीन लाख २३ हजार एक सयबाट बढाएर पाँच लाख ४८ हजार पुर्याइएकोमा कलेज प्रशासनको उक्त निर्णयप्रति विमती राख्दै हामीले गम्भीर ध्यानार्षण गराएका थियौं । शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता नलिए कडा संघर्षको कार्यक्रम घोषण गर्न बाध्य हुनेछौं भनेर चेतावनी समेत दिएका थियौं । मागको उचित सम्बोधन सम्बोधन नहुँदासम्म तालाबन्दीको घोषणा गर्दछाैँ ।’

टिप्पणीहरू