नेपाल वायुसेवा निगम : अस्थिर उच्च व्यवस्थापन,स्थीर कर्मचारीजन
आर्थिक अवस्था नाजुक बन्दै गएको राष्ट्रिय झण्डावाहक नेपाल वायुसेवा निगमको उच्च व्यवस्थापनमा एकपछि अर्को खेलोफड्को भएको छ । ३५ वर्षअघिसम्म हवाईक्षेत्रमा विश्वासको पर्यायवाची रहेको निगम र यसका उडानसँग सम्बन्धित शाख त्यसपछिका तीन दशकमा ध्वस्त भएका छन् ।
अहिले पनि निगमको उच्च व्यवस्थापन धरमराएको अवस्थामा देखिन्छ । तर उसले पछिल्लो समय आफूलाई आर्थिक रुपले सक्षम बनाउँदै लगेको दाबी गरिएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीको नियुक्तिपछि भएका सुधारका विषयमा व्यवस्थापनले प्रकाश पार्दै भनेको छ,‘सुधारका सकारात्मक संकेत देखिएका छन् । निगमले उपभोग गर्दै आएको ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएकाले त्यसलाई सकारात्मक रुपमा लिइएको छ ।’
अब निगमले आवश्यक परेको बेला उक्त सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था बनेकाले तीन अर्ब २७ करोड रुपियाँ सीमाको सुविधा कायम भएको बताइन्छ । गत वर्ष ५८ करोड नगद मौज्दात भएकोमा करिब दुई अर्बको नगद मौज्दातपछि अहिले एक अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषलाई ९० करोड) ऋण भुक्तानी गरिएको छ ।
पछिल्लो दुई वर्षसम्म निगमले एक सुको ऋण तिर्न सकेको थिएन । अहिले ओभर ड्राफ्ट रकम भुक्तानीले ब्याज भुक्तानीको दायित्व बचत भएकाले आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको बताइन्छ ।
निगमले गत आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा आठ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा उक्त आम्दानी ४७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा भएको आम्दानी पाँच अर्ब ७० करोड मात्र थियो ।
निगमले उडान संख्यामा गरेको बिस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सिरिजका दुई वटा वाईडबडी जहाजको औसत सीट अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा पुर्याएको कारण उक्त अवस्था देखिन आएको विश्लेषण गरिएको छ ।
गत कात्तिकमा निगमको विमान ए–३२० ले ७ घण्टा ३८ मिनेट र ए–३३० को ६ घण्टा ३८ मिनेटले सेवा बढेको थियो । चैतमा ९ घण्टा ४८ मिनेट ए–३२० को र १० घण्टा ४१ मिनेट ए–३३० को समय बढेको पनि दाबी गरिएको छ ।
विगतमा विभिन्न कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडानहरू पुनः सुचारु गराइएका छन् । गत कात्तिक महिनामा नयाँ दिल्लीको दैनिक उडान एउटा भएकोमा हाल दुई उडान भइरहेको छ ।
मुम्बईको बन्द उडान हाल सातामा तीन पटक भइरहेको छ । बैंगलौर, दोहा,दुबई,हङकङ, क्वालाम्पुर, बैंकक, नारिता र साउदी अरेबियामा पनि उडान संख्या बढाइएको उल्लेख छ । यता आन्तरिकतर्फ सुदूरपश्चिममा नियमित उडान भएका छन् भने इलाममा नियमित उडानको तयारी भएको उच्च व्यवस्थापनले जानकारी गराएको छ ।
पछिल्लो नौ महिनामा निगमले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त वायुसेवाहरूसँग सम्झौता गरेको छ । यसमा यात्रुतर्फ २१ वटा र कार्गोतर्फ २४ वटा वायुसेवाहरूसँग सम्झौता गरिएको हो । यसबाट पनि निगमको शाख र आम्दानीमा समेत सकारात्मक प्रभाव परेको दाबी छ । कनेक्टिङ उडानमा यात्रुहरूको आवश्यक्तालाई ध्यानमा राखी निगमको उडान सीमालाई व्यापक सुधार गरी अन्तर्राष्ट्रिय ख्यातीमा पनि वृद्धि गरिएको निगम स्रोतले जानकारी गराएको छ ।
निगमले ‘पीएसएस’ पद्धतिमार्फत रिजर्भेसन, टिकेटिङ, एयरपोर्ट चेकिङ, इन्टरनेट बुकिङका कार्य पनि सँगसँगै सञ्चालन गर्दै आएको छ । ‘पीएसएस’ सम्बन्धी सेवा बन्द भएकाले उक्त सेवा सम्बन्धी नयाँ प्रोजेक्टलाई समयसीमाभित्र अगाडि बढाउन उच्च व्यवस्थापन टिमको विशेष पहल र सक्रियतामा धेरै कार्य सम्पन्न गरिएको बताइन्छ ।
नयाँ ‘पीएसएस’को चयनसँगै विभिन्न गन्तव्य मुलुकका बाध्यात्मक÷अनिवार्य प्रावधानसमेत निगमले अनुशरण गर्दै जानुपर्ने हुन्छ । नयाँ ‘पीएसएस’लाई अन्य देशका अनिवार्य सिष्टमसँग एकीकृत गर्ने क्रममा ती सिष्टमसँग लिङ्कअप गर्नुपर्ने तथा यसबीचमा ती कम्पनीले निगमसँग पुरानो सम्झौताअनुसार असुल उपर गर्न बाँकी करोडौं रकम समेत विभिन्न चरणमा वार्ता गरी छुट लिन सफल भएको हो । यसबाट करोडौं रकम बचत भएको एक जना उच्च अधिकारीले बताए ।
मध्यपूर्व र खाडी मुलुक जाने नेपाली श्रमिकलाई भाडा छुट, डिजी सर्टिफिकेट सेवा, गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र उडान, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको वाईडबडीद्वारा सफल परीक्षण, केन्द्रीय कार्यालयमा सर्भेनियर सेल्स काउन्टर, जहाज र बोर्डिङ पासमा विज्ञापन, निगम र विद्युत प्राधिकरणबीच सम्झौता, उद्धार र मेडिकल सामान आपूर्ति जस्ता कार्य निगमले छोटो समयमा पूरा गरेका कारण आर्थिक अवस्थामा सुधारको संकेत देखिएको बताइन्छ ।
तर अहिले फेरि उच्च व्यवस्थापन तहमा देखिन लागेको अस्थिरताले निगमलाई पुनः पुरानै अवस्थामा लैजाने पक्का रहेको कर्मचारी युनियनका एक जना पदाधिकारीले बताए ।
टिप्पणीहरू