पूर्वपञ्चहरुले आज थाल ठटाउने

पूर्वपञ्चहरुले आज थाल ठटाउने

पूर्वपञ्चहरुको पार्टी राप्रपाले आज थाल ठटाएर सरकारको विरोध गर्ने भएको छ । राजतन्त्र र हिन्दुराष्ट्र स्थापना गर्ने आफ्नो रणनीतिक उद्देश्यलाई जनजीविकासँग जोडेर आन्दोलनमा उत्रिएको राजेन्द्र लिङ्देन नेतृत्वको सो पार्टीले आज ७७ वटै जिल्ला सदरमुकाम र काठमाडौँको भृकुटीमण्डपमा थाल ठटाएर सरकारको विरोध गर्न लागेको हो ।

कानमा तेल हालेर बसेको सरकारलाई ब्युँझाउने उद्देश्यले यस्तो कार्यक्रम राखिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज थाल ठटाउने कार्यक्रम राखिएको हो ।

साउन ५, ६ र ७ गते राजधानीमा बसेको राप्रपाको केन्द्रीय समिति बैठकले सरकारले महँगी नियन्त्रण गर्न नसकेको, किसानलाई मल उपलब्ध नगराएको जस्ता आरोप लगाउँदै गठबन्धन सरकार असफल भएको ठहर गरेको थियो ।

बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।

टिप्पणीहरू