प्रचण्ड भेट्न खुमलटारमा फेरि अमरेशकुमार

प्रचण्ड भेट्न खुमलटारमा फेरि अमरेशकुमार

विभिन्न पार्टीका नेता, विदेशी पाहुना,कूटनीतिज्ञलगायतको आउजाउ भैरहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो पनि भेट्नेहरुको लर्को देखियो ।

बिहानै झण्डा हल्लाउँदै खुमलटार छिरेका जनता समाजवादी पार्टी (जसपा) का दुई मन्त्रीले करिब सवा घण्टा प्रचण्डसँग कुराकानी गरे । करिब साढे ७ बजेतिर त्यहाँ पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइन र वन तथा वातावरण मन्त्री प्रदिप यादव पौने ९ बजेको आसपास त्यहाँबाट बाहिरिएका हुन् ।

मन्त्रीद्वय निस्किएलगत्तै अध्यक्ष भेट्न माओवादी केन्द्रका नेता वर्षमान पुन “अनन्त” खुमलटार छिरेका थिए । करिब डेढ घण्टा अध्यक्षसँग कुराकानी गरेर उनी साढे १० बजेतिर निस्किए ।

केही समययता प्रचण्डसँग नियमितजस्तो भेटघाटमा रहेका भारतनिकट कांग्रेस साँसद अमरेशकुमार सिंह हिजो पनि छुटेनन् । वर्षमान निस्किएलगत्तै खुमलटार पुगेका उनले अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठसँग सवा घण्टा सामूहिक छलफल गरेको बताइएको छ ।

त्यसपछि करिब एक घण्टा सिंहले अध्यक्ष प्रचण्डसँग एक्लै कुराकानी गरेको खुमलटार स्रोतले जनाएको छ।

टिप्पणीहरू