जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने मन्त्री बडूको दाबी

जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने मन्त्री बडूको दाबी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने तयारी गरिएको दाबी गर्नुभएको छ । वर्षौंदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको अनुगमनपछि मन्त्री बडूले उक्त जानकारी दिनुभएको हो ।

जनकपुर चुरोट कारखाना सरकारको स्वामित्वमा सञ्चालन भएर पनि नाम कमाउन सफल रहेको उल्लेख गर्दै उहाँले त्यो बेलाका मेसिनहरुको अध्ययन गरेर उपयोगमा आउनसक्ने मेसिनलाई सञ्चालनमा ल्याइने बताउनुभयो ।

मन्त्री बडूले सरकारले राष्ट्रिय उत्पादन बढाउन रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको जिकीर गर्नुभयो । उहाँले पुराना उद्योगहरु पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने जानकारी दिनुभएको छ ।

सरकारको स्वामित्वमा रहेका रुग्ण उद्योगहरु निजी क्षेत्रसँगको सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर भए पनि सञ्चालनमा ल्याइने उहाँको प्रतिबद्धता छ ।

मन्त्री बडूले मुलुक आयातमुखी भइरहेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले मुलुकको उत्पादन बढेमा आयात कम गर्न सकिने उल्लेख गर्दै अब निजी क्षेत्र र सरकारी दुवैले निर्यातजन्य उद्योग स्थापना गर्नुपर्नेमा मन्त्री बडूको जोड छ ।

उहाँले भन्नुभयो, ‘अहिलको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी छ । हामी धेरै आयातमुखी भएका छौं । मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिन्छ । जसले निर्यात गर्नसक्छ त्यस्ता उद्योग बढाउन सक्छ ।’

मन्त्री बडूले भनेपनि जनकपुर चुरोट कारखाना के कति कारणले बन्द भएको, कच्चा पदार्थको कसरी अभाव भयो भन्नेबारे सुक्ष्म अध्ययन नगरेसम्म बन्द भएका उद्योगहरु सञ्चालनमा आउन गाह्रो रहेको बताइन्छ ।

टिप्पणीहरू